नर्वेको पहाडमा ढुंगेसिँढी बनाइरहेका शेर्पा

निमा नुरु शेर्पाको घर नेपालको सोलुखुम्बुमा छ । उनी शेर्पा साथीहरूका साथ हरेक वर्ष करिब ६ हजार किलोमिटर यात्रा गर्दै नर्वे पुग्छन् । त्यसको कारण हो– नर्वेको पहाडी क्षेत्रका ढुंगे सिँढी निर्माण गर्नु । निमासहितको नेपाली शेर्पा टोलीले नर्वेमा यो काम गर्न थालेको करिब २० वर्ष भइसकेको छ ।

निमा भन्छन्, ‘हामी नर्वेको यस परियोजनाको हिस्सा बनेर काम गर्न पाउँदा धेरै खुसी छौं । हाम्रो कामले नयाँ पिँढीलाई मद्दत पुग्दछ ।’
नेपाली शेर्पाले बनाएको ढुंगाको सिँढीलाई नर्वेका बासिन्दाले ‘शेर्पा टापा’ भन्दछन् । नेपाली शेर्पाहरूले भने ‘शेर्पा सिँढी’ नाम दिएका छन् । शेर्पा सिँढीले कठिन पहाडी क्षेत्रमा पदयात्रालाई सहज मात्र बनाएको छैन, पर्यटकीय आकर्षणको केन्द्र पनि बनेको छ ।
नेपाली शेर्पाहरूले नर्वेका पहाडी क्षेत्रमा दुई सय भन्दा धेरै सिँढी बनाइसकेका छन् । जसले हरेक उमेरका व्यक्तिलाई पहाड चढ्न र उक्लिन सहज भएको छ । यस्ता सिँढीहरू १० देखि ४ हजारसम्मका छन् ।
करिब २० वर्षअघि नर्वेका गिरबेटी पहाडी क्षेत्रमा रहेको आफ्नो कृषि फार्म बनाउन खोजेका थिए । तर पहाडमा मेसिन र निर्माण सामग्री लैजान कठिन थियो ।

स्टिबियुगयारेन एएसका प्रबन्ध निर्देशकसमेत रहेका गिर बेटी भन्छन्, ‘काम गर्न निकै कठिन थियो । काम गर्ने बलिया मान्छेहरू पनि थिएनन् । त्यसपछि मैले नेपालबाट शेर्पाहरूको सहयोग लिने विचार गरेँ,’ उनी भन्छन् ।

त्यसपछि उनले सगरमाथा आरोहणमा काम गरेका एक नेपाली शेर्पाको पत्ता लगाए । ती शेर्पा निमा नुरुका बुवा थिए । उनले बोलाएपछि निमाका बुवा नर्वे पुगेर सिँढी बनाउने काम गरे । उनी काममा कुशल थिए र कठिन शारिरीक श्रम पनि गर्न सक्दथे ।

निमा किशोरावस्थामै पहिलोपटक बुवासँगै नर्वे पुगेका थिए । त्यसपछि उनी हरेक वर्ष आफ्नो टोलीका सदस्यहरूसहित नर्वे पुग्ने गरेका छन् ।

शेर्पाबारे गिर वेटी भन्छन्, ‘शेर्पाहरू विश्वकै बलिया व्यक्तिहरू हुन् । र, ढुंगामा काम गर्न पनि सिपालु छन् । उनीहरूको मनोबल अरुको भन्दा उच्च पनि छ ।’

निमा र उनका साथीहरूले बनाएको एक सिँढी पश्चिमी नर्वेको ओक्राफिओल्डको किनारमा अवस्थित प्रसिद्ध लङफस झरनाको छेउँमै छ । सिँढी हुँदै भ्युपोन्टमा पुगेर पर्यटकहरू सुन्दर प्राकृतिक दृष्यावलोकन गर्छन् ।

प्राय: पानी परिरहने नर्वेको भिराला पहाडमा चेप्टा र गह्रुङ्गा ढुंगा राखेर यात्रालाई सहज अनि सुरक्षित खालको सिँढी निर्माण गर्नु सहज छैन । तर नर्वेजियनलाई असम्भव जस्तो लाग्ने यो काम नेपाली शेर्पाहरूले गैँती, गल, छिनो र हथौडा बजार्दै सम्भव बनाइदिएका छन् ।

उनीहरूले प्रयोग गरेका कुनै ढुंगाको तौल एक हजार किलोसम्मको पनि छ । गह्रुँगा ढुंगा तल झार्न त सजिलो हुन्छ, तर माथि लैजान निकै गाह्रो हुन्छ । त्यसका लागि हेलिकप्टर प्रयोग गरिन्छ । हेलिकप्टरमा डोरीले झुण्ड्याएर एकपटकमा एउटा ढुंगा ढुवानी गरिन्छ ।

ठाउँ अनुसार आवश्यक ढुंगा मगाउने र ढुवानी गर्ने गरेको निमा नुरु बताउँछन् ।

यो काम सावधानीपूर्वक गर्दै उनीहरूले अरूलाई असम्भव लाग्ने कुरा सम्भव बनाउँदै आएका छन् । अझ रोचक त के छ भने उनीहरूले बनाएको सिँढीको हरेक खुड्किला पहाडको प्राकृतिक बनोटसँग मिल्दो छ ।

जस्तो मौसममा पनि सुरक्षित ढंगले यात्रा गर्न मिल्ने सिँढीमा चढ्दा र ओर्लिंदा पर्यटकहरू पनि खुसी हुने गरेका छन् ।

जेन नामकी एक ब्रिटिश पर्यटक भन्छिन्, ‘उकालोमा भए पनि उनीहरूले राम्रो काम गरेका छन् । यो कामले यात्रालाई सहज र सुरक्षित बनाएको छ ।’

बौद्ध धर्मावलम्बी भएकाले शेर्पाहरूले सिँढी बनाएको स्थानमा विभिन्न मन्त्रहरू लेखिएका रंगीचंगी ध्वजापताका पनि टाँग्ने गरेका छन् । यसबाट सो स्थान अझ सुन्दर देखिने गरेको छ ।

यो कामले नेपाली शेर्पाको कार्यकुशलतालाई मात्र चिनाइरहेको छैन, उनीहरूलाई राम्रो आम्दानीको माध्यम पनि बनेको छ । निमा नुरु भन्छन्, ‘यदि म यो काममा नआएको भए पर्वतारोही वा अरु कुनै काम खोज्नुपर्थ्यो ।’

यस्तो कामका कारण परिवारसँग टाढा त हुनुपर्छ तर नेपालमा हुने कमाइको तुलनामा करिब २० गुणा ज्यादा कमाइ हुने गरेको छ । र, यो रकमले आफ्नै परिवारको जीवनस्तर उकास्न योगदान गरिरहेको छ ।

निमा भन्छन्, ‘यो काम हाम्रो परिवारका लागि मात्रै होइन, यो शेर्पा समुदाय र हाम्रो देशका लागि पनि ठूलो अवसर हो ।’

शेर्पाहरूको यो साहसिक कामले नर्वेवासीलाई पनि अवसर सिर्जना गरेको छ । झरनाको तलतिर एलयर्विक फार्म नामको रेष्टुरेन्ट चलाइरहेकी निना काल्टवासरले पर्यटकलाई लक्षित गरी रेष्टुरेन्ट सन्चालन गरेकी छन् । सो रेष्टुरेन्ट पूर्णरूपमा पर्यटकमा निर्भर छ ।

उनी भन्छिन्, ‘शेर्पा सिँढीले अझै धेरै पर्यटकहरूलाई आकर्षित गर्ने विश्वास छ ।’

३ हजार २९२ ढुंगे सिँढी

नर्वेमा नेपाली शेर्पाहरूलाई देशका विभिन्न भागमा सयौँ यस्ता ढुंगे सिँढी निर्माणका लागि काममा लगाइएको छ । यसले कठिन पहाडी क्षेत्रमा सर्वसाधारण तथा पर्यटकको पहुँच बढाउनुका साथै प्राकृतिक क्षेत्रको संरक्षणमा समेत योगदान पुर्‍याएको छ ।

नर्वेको फ्योर्ड क्षेत्रमा रहेको मिडसुन्ड सिँढी विश्वकै लामो ढुंगे सिँढीमध्ये एक मानिन्छ । मोल्डे नजिकैको ओत्रोया द्वीपमा रहेको रोर्सेटहर्नेट पहाडसम्म पुग्न ३ हजार २९२ वटा ढुंगे सिँढी निर्माण गरिएको छ ।

शेर्पाहरूले निर्माण गरेको यो पदमार्ग क्षेत्रकै आकर्षक पदयात्रामध्ये एक मानिन्छ । सिँढी चढेर पहाडको चुचुरोमा पुगेपछि समुद्र र आसपासको विशाल भू–दृश्यको मनोरम दृश्य देख्न सकिन्छ ।

मिडसुन्ड क्षेत्रमा शेर्पाहरूले निर्माण गरेका अन्य ढुंगे सिँढीसमेत छन् । यहाँ रोर्सेटहर्नेटसहित चारवटा व्यवस्थित पदयात्रा मार्ग रहेका छन् ।

त्यस्तै, नर्डमोरे र रोम्सडालेन क्षेत्रमा पनि शेर्पाहरूले निर्माण गरेका ढुंगे सिँढीसहितका कम्तीमा तीनवटा पदमार्ग छन् ।

तीमध्ये आन्डाल्सनेसको नेसाक्सलालाई सबैभन्दा चर्चितमध्ये एक मानिन्छ । यहाँ र्‍याम्पेस्त्रेकन दृश्यावलोकनस्थलबाट माथि जाने क्रममा बनाइएका शेर्पा सिँढीमार्फत पदयात्रा गर्न सकिन्छ । बाटोबाट देखिने दृश्य र तस्वीर खिच्ने आकर्षक स्थानका कारण यो क्षेत्र पर्यटकमाझ लोकप्रिय छ ।

यसरी नेपालका हिमाली क्षेत्रमा पुस्तौँदेखि विकसित भएको शेर्पाहरूको ढुंगे संरचना निर्माण गर्ने सीप अहिले नर्वेको पर्यटन र प्राकृतिक संरक्षणमा समेत उपयोग भइरहेको छ ।

– एजेन्सीहरूको सहयोगमा

ताजा समाचार