पोखरा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रूटमा नियमित उडान सुरु गर्दैछ।
विसं २०७९ पुस १७ गते अंग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उडान सुरु गर्न लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन्।
अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।
उनका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६:१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७:१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ।
विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ।
अध्यागमन, भन्सार, कार्गो लगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताए।
हामी आजको दिनको पर्खाइमा छौं। विमानस्थलबाट प्रवाह गर्नुपर्ने सम्पूर्ण तयारीका काम पूरा भएका छन्। विमानस्थल सञ्चालनपछि केही वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। अहिले दुबईका लागि दैनिक नियमित उडान सुरु हुन लागेको अवस्थामा हामी उत्साहित छौं,’ उनले भने।
फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन तथा व्यवसायीले खादा र मालाले स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन्।
नेपाली युवा रोजगारी तथा अध्ययनका लागि दुबई गइरहेकाले पनि पोखराबाट उडान सञ्चालन हुँदा सहज हुने उहाँको भनाइ छ।
पोखराबाट अन्तरराष्ट्रिय उडान सञ्चालनका क्रममा आवश्यक शान्तिसुरक्षाको प्रबन्धबारे जिल्ला सुरक्षा समितिले विमानस्थलको निरीक्षण पनि गरेको छ।
प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थलमा आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए।