अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुने

धादिङ

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशन शनिबार धादिङबेँसीमा आयोजना हुने भएको छ।

विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य, सामाजिक उत्तरदायित्व तथा जिल्लाको सामाजिक र आर्थिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले महाधिवेशन आयोजना गर्न लागिएको हो।

समाजका अनुसार महाधिवेशन असोज ३१ गते शनिबार बिहान १० बजेदेखि धादिङबेँसीस्थित शीतल बजारको क्रिक रिसोर्टमा सञ्चालन हुनेछ।

प्रवासमा रहेका धादिङवासीको साझा संस्थाका रूपमा क्रियाशील समाजले विश्वभर छरिएर रहेका जिल्लावासीबीच आपसी सम्बन्ध विस्तार, सहयोग आदानप्रदान तथा जन्मभूमिप्रतिको उत्तरदायित्व अभिवृद्धिका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।

महाधिवेशनमा संस्थाको भावी कार्यदिशा, संगठनात्मक सुदृढीकरण तथा प्रवासी धादिङवासीको सहभागितालाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ। साथै, जिल्लाको सामाजिक तथा आर्थिक विकासमा प्रवासी समुदायको पुँजी, सीप, ज्ञान र अनुभव परिचालन गर्ने विषयले समेत प्राथमिकता पाउने विश्वास गरिएको छ।

महाधिवेशनले संस्थाको आगामी नेतृत्व चयन तथा भावी कार्यक्रम र योजनासम्बन्धी महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। विश्वभर रहेका धादिङवासीलाई साझा उद्देश्यमा आबद्ध गर्दै जिल्लाको विकासमा प्रवासी समुदायको योगदानलाई संस्थागत रूपमा विस्तार गर्न महाधिवेशन महत्त्वपूर्ण हुने देखिएको छ।

ताजा समाचार