पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।

उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको स्रोतले पुष्टि गरेको छ ।

तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ साल फागुनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए ।

नेपालको खानदानी राणा परिवारका सदस्य चोलेन्द्र शमसेर जबरा राणा प्रधानमन्त्री वीरशमशेर जबराका चौथो पुस्ताका सन्तान हुन् । उनी वीर शमशेरका छोरा ईन्द्र शमशेरका नाति हुन् । चोलेन्द्रका बाबु युवराज शमशेर तत्कालिन राजसभा स्थायी समितिका सदस्य थिए । तर, चोेलेन्द्र राजनीतिमा लागेनन् ।

वकालत पेशा गर्दागर्दै चोलेन्द्र ०५३ वैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए । लामो समय अस्थायी न्यायाधीश भएका उनी पछि विशेष अदालतको सदस्य पनि भए ।

पुनरावेदन अदालत बुटवलको कामु मुख्य न्यायाधीश भइरहेकै बेला उनी ०७१ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका हुन् । त्यसबेला संसदीय सुनुवाइ समितिमा एमाले र माओवादीले जबराको विपक्षमा मत दिएका थिए । तर पछि, उनी एमाले र माओवादी मिलेर बनेको नेकपाकै साथ पाएर प्रधानन्यायाधीश बनेका थिए ।

उनले २०७५ पुस १८ गते प्रधानन्यायाधीश पदको कार्यभार सम्हालेका थिए । तर मन्त्रिपरिषद सदस्यको भागबण्डा लगायतका काण्डमा मुछिएपछि उनी विवादित बनेका थिए ।

उनीविरुद्ध कानुन व्यवसायीहरुले आन्दोलन समेत गरेका थिए ।

ताजा समाचार