टोकियो
लाहुरे जीवन, पारिवारिक सम्बन्ध र पेन्सनसँग जोडिएको सामाजिक कथामा आधारित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ आगामी अक्टोबर १२, २०२६ मा टोकियोमा प्रदर्शन हुने भएको छ।
माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्र एनआईटीभी समूह र तमु धिं जापानको आयोजनामा मेगुरो कुमिन सेन्टरमा प्रदर्शन गरिनेछ। चलचित्रको दुई शो दिउँसो १ बजे र अपराह्न ४ः३० बजे हुनेछन् भने टिकट मूल्य ३ हजार येन तोकिएको छ।
चलचित्रमा पूर्वभारतीय सैनिक गङ्गाबहादुरको मृत्युपछि उनकी कान्छी श्रीमती र छोराले पेन्सनको अधिकार खोज्ने क्रममा उत्पन्न पारिवारिक द्वन्द्व, बहुविवाह, सम्बन्ध र सन्तानको अधिकारलाई कथाको मुख्य विषय बनाइएको छ।
दयाहाङ राई, गौमाया गुरुङ, विल्सनविक्रम राई, पशुपति राई, बुद्धि तामाङ, स्वर्गीय सुनिल थापालगायत कलाकारको अभिनय रहेको चलचित्रमा गुरुङ समुदायको भाषा, संस्कृति र परम्परासमेत प्रस्तुत गरिएको छ।
टोकियोपछि जापानका अन्य सहरमा पनि चलचित्र प्रदर्शन गर्न सकिने आयोजकले जनाएको छ। प्रदर्शनबाट प्राप्त नाफाको केही अंश रसुवा–नुवाकोटका बाढीपीडितका लागि सहयोग गरिने बताइएको छ।