सर्वदलीय बैठकको निष्कर्ष: ‘वार्ता र सहमतिबाट एमाले भाग्न खोज्यो

माडौं । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा आयोजित सर्वदलीय बैठक सकिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाहेकका दलका शीर्ष नेताहरू उपस्थित रहेको बैठकले कुनै निश्चित सहमति भने गर्न सकेन । एमालेकै कारण संसद अवरुद्ध भइरहेको अवस्थामा समस्या समाधान गर्न बैठक बोलाइएको भएपनि एमाले नै अनुपस्थित हुँदा बैठकले निश्चित निष्कर्ष निकाल्न भने सकेन ।

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री एवं सभापति देउवा, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव वेदुराम भुसाल सहभागी थिए ।

त्यस्तै जनता समाजवादी पार्टीका तर्फबाट राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल तथा नेमकिपाबाट प्रेम सुवाल सहभागी भए ।

बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ ।

‘प्रधानमन्त्रीले आयोजना गरेको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सवै दलहरु उपस्थित हुनुभयो तर प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आज उपस्थित भएन । उहाँहरुले संसद अवरोध गरिरहनुभएको छ’, बैठकपछि सरकारका प्रवक्ता समेत रहेका काँग्रेस नेता ज्ञानेन्द्र कार्कीले भने, ‘उहाँहरूसँग सम्वाद र वार्ता गर्नका निमित्त यो भन्दा अघि सभामुखले पनि यस्तै किसिमको सर्वदलीय बैठकको आयोजना गर्नुभयो, त्यहाँ पनि अनुपस्थित हुनुभयो । यसले गर्दा उहाँहरु संवाद र वार्ताबाट भाग्न खोजेको देखियो । जुन कुरा अहिले मुलुकको आवश्यकताभन्दा भिन्न छ ।’

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आजको बैठकमा एमाले अनुपस्थित भएपनि फेरिफेरिका बैठकमा उपस्थित हुने अपेक्षा व्यक्त गरेका थिए । ‘फेरि फेरि पनि म उहाँहरुलाई आमन्त्रण गर्छु, उहाँहरु आउनुहुनेछ र आफ्नो कुराहरु राख्नुहुनेछ’, देउवाको भनाइ उदृत गर्दै कार्कीले सञ्चारकर्मीलाई जानकारी दिए ।

त्यस्तै बैठकले संघीय संसदलाई निर्वाध र मर्यादित ढंगले सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको छ । त्यसका लागि नेकपा एमाले र उक्त पार्टीका नेता केपी शर्मा ओलीले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बैठकले आग्रह गरेको छ । नेकपा एमालेको अवरोधका कारण संघीय संसद लगातार अवरुद्ध हुदै आएको छ । प्रतिनिधिसभा संसदमा ३३ वटा र राष्ट्रियसभामा पेश भएका २७ वटा विधेयक अलपत्र छन् ।

आज एकबजे संसद बैठक बस्दैछ । उक्त बैठक पनि एमालेले अवरुद्ध गर्ने जनाएको छ ।

ताजा समाचार