पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सोमबार बिहानै खसेको सुख्खा पहिरोले अवरुद्ध भएको छ । राजमार्गको तिनाउ गाउँपालिका–३ अन्तर्गत पाल्पाको दोभान हेडबक्स नजिकै नागको मन्दिर अगाडि भागमा ठूलो ढुंगासहितको सुख्खा पहिरो खसेको हो ।

सोमबार बिहान ५ बजेतिर सडकको माथिल्लो भागबाट ठूलो ढुंगासहितको सुख्खा पहिरोले राजमार्ग अवरुद्ध भएको दोभान प्रहरी चौकीले जनाएको छ । पहिरो पन्छाएर एकतर्फी खुलाउने प्रयास गरेपनि ढुंगा ठूलो भएकाले नसकिएको दोभान प्रहरीका चौकी प्रमुख विष्णु कुँवरले जानकारी दिए ।

सडक डिभिजन पाल्पालाई ढुंगा फुटाउनका लागि आग्रह गरिएको भएपनि काम सुरु भइसकेको छैन । राजमार्गको छेउबाट मोटरसाइकल वारपार गर्न सकिएपनि अन्य सबै सवारी साधन ठप्प रहेको छ । राजमार्ग भएर स्याङजा, पोखरा, गुल्मी, बाग्लुङ, पाल्पाकै विभिन्न स्थान हिडेका सय बढी सवारीसाधन लामबद्ध भएको स्थानीय विष्णुप्रसाद पाण्डेयले जानकारी दिए ।

उनका अनुसार राजमार्गको दोभान र सिद्धबाबा क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको छ । सडक डिभिजनले राजमार्ग स्तरोन्नतिका लागि बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म राजमार्ग बन्द गर्ने भएकाले सयौं सवारीसाधन जाममा परेका हुन् । निर्माण व्यवसायीले कामै नगरेपनि सडक डिभिजनले भने सडक रातीको समयमा बन्द गरेको सूचना प्रकाशन गरेको छ । एक सातादेखि रातिको समयमा राजमार्गमा सवारीसाधन संचालन गर्न दिइएको छैन ।

ताजा समाचार