ओसाकाको पर्यटकिय क्षेत्र दोतोनबुरीमा भएको आगलागीमा दुई अग्नी नियन्त्रकको ज्यान गयो

टोकियो

जापानको ओसाकामा रहेको पर्यटकिय क्षेत्र दोतोनबुरीमा सोमबार भएको आगलागीमा दुई अग्नी नियन्त्रकको ज्यान गएको छ ।

दोतोनबुरीको एक भवनमा लागेको आगो निभाउने क्रममा दुई जना अग्नी नियन्त्रकको मृत्यु भएको हो । ओसाकाको मिनामी क्षेत्रमा रहेको एक भवनमा सोमबार बिहान आगलागी भएको थियो । मृत्यु हुनेमा ५५ वर्षीय ताकासी मोरी र २२ वर्षीय मिचुनारी नागातोमो रहेको ओसाका नगर अग्नी नियन्त्रक विभागले जनाएको छ। उनीहरू आगो निभाउने क्रममा भवनभित्र फसेका थिए।

आगलागी भएको जानकारी पाउनसाथ दमकल, हेलिकप्टर, र अग्नी नियन्त्रण डुङ्गा गरी ६३ भन्दा बढी गाडीहरू घटनास्थल पुगेका थिए। आगलागी करिब ३ घण्टापछि नियन्त्रणमा आएको थियो ।आगलागि भएको क्षेत्र पर्यटकहरूको लागि प्रसिद्ध स्थान हो । तर यो घटनाले स्थानीय र पर्यटक दुवैलाई असर गरेको छ।

यस घटनामा अन्य तीन जना अग्नी नियन्त्रक घाइते भएका छन् भने एक महिलालाई पनि अस्पताल लगिएको छ।

प्रहरीले आगलागीको कारणबारे अनुसन्धान गरिरहेको छ।

ताजा समाचार