काठमाडौँ — स्थानीय तह निर्वाचनका लागि हरियो रङको मतपत्रमा कालो रङको निर्वाचन चिह्न हुने भएको छ । सबैभन्दा माथिका ६ वटा लहरमा राष्ट्रिय पार्टीको निर्वाचन चिह्न हुनेछन् । त्यसपछि जिल्लामा सक्रिय अन्य दलको चिह्न राखिएको छ । त्यसपछि मात्रै स्वतन्त्र उम्मेदवारलाई दिइने चिह्नको लहर राखिएको छ । निर्वाचन अधिकृतको कार्यालयले शनिबार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको हो ।
आयोगले शनिबार ७७ वटै जिल्लाको मतपत्रको नमुना पनि सार्वजनिक गरेको छ । हरेक जिल्लाको मतपत्र फरक रहेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए । स्थानीय निर्वाचन प्रयोजनका लागि जिल्लागत रूपमा दर्ता भएका दलको संख्याका आधारमा मतपत्रको आकार ठूलो वा सानो हुनेछ । सबैभन्दा कम उम्मेदवार भएको मनाङ र मुस्ताङमा १७ लहरको मतपत्र छपाइ गरेर जिल्लामा पठाइसकिएको छ । ती जिल्लाको मतपत्रमा सुरुमा ६ वटा राष्ट्रिय पार्टीको, त्यसपछि ५ वटा अन्य दलको निर्वाचन चिह्न छ । स्वतन्त्र उम्मेदवार ६ जना हुन सक्ने अनुमानसहित चिह्न राखेर मतपत्र छपाइ गरिएको प्रवक्ता पौडेलले बताए । सबैभन्दा बढी निर्वाचन चिह्न भएको ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ । काठमाडौं महानगरको मतपत्र भने छाप्न बाँकी छ । महानगरको प्रमुखमा मात्रै ५६ जनाको उम्मेदवारी परेको छ ।
आयोगले जिल्लागत निर्वाचनमा भाग लिने राजनीतिक दलको नामनामेसीसहितको विवरण प्राप्त गरेपछि पूर्वआकलन गरी छपाइ गर्ने मतपत्रको लहर स्वीकृत गरेको हो । भक्तपुरका चारवटै पालिका र ६ वटा महानगरपालिकाबाहेक सबैको मतपत्र छपाइ गरी ढुवानी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।
मतपत्रमा १३ वटा लहरसम्म स्वतन्त्रको चिह्न राखिएको तथा केही स्थानीय तहमा स्वतन्त्र उम्मेदवार बढेकाले फेरि मतपत्र छाप्नुपर्ने हुन सक्ने पौडेलले बताए । आयोग स्रोतका अनुसार स्वतन्त्र उम्मेदवारी बढी भएको ५७ भन्दा बढी पालिकाको मतपत्र फेरि छाप्नुपर्ने हुन सक्छ । मधेस प्रदेशमा स्वतन्त्र उम्मेदवारी दिनेको संख्या बढी छ ।
धेरै दल दर्ता रहेका स्थानमा मतपत्रको आकार ठूलो भएकाले मतदाता झुक्किन सक्ने सम्भावना पनि छ । धेरै निर्वाचन चिह्न भएको मतपत्रबाट ७ जनालाई मत दिनुपर्ने हुन्छ । एक जना मतदाताले अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र थप दुई जना वडा सदस्य गरी ७ पदमा मतदान गर्न पाउने छन् । सातवटै पदका लागि एउटै मतपत्रमा कोलम र चिह्न छुट्याइएको छ । मतदाताले एउटै मतपत्रमा ७ पदका लागि ७ स्थानमा स्वस्तिक चिह्न लगाउनुपर्ने हुन्छ ।
२०७४ को प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त मतका आधारमा आयोगले मतपत्र निर्वाचनको प्राथमिकता निर्धारण गरेको हो । पहिलो लहरमा नेकपा एमाले, दोस्रोमा नेपाली कांग्रेस, तेस्रोमा नेकपा माओवादी केन्द्र, चौथोमा जनता समाजवादी पार्टी, पाँचौंमा लोकतान्त्रिक समाजवादी र छैटौंमा नेकपा एकीकृत समाजवादी पार्टीको चिह्न राखिएको छ । राष्ट्रिय मान्यता प्राप्त नभएका दलले स्वतन्त्र हैसियतमा निर्वाचनमा भाग लिनुपर्ने कानुनी व्यवस्था भए पनि आयोगले विशेष निर्णय गरेर जिल्लामा सक्रिय रहेको आधारमा थप ६३ दललाई दलकै निर्वाचन चिह्न प्रदान गरी मतपत्र छपाइ गरिसकेको छ । जिल्लामा सक्रियताका आधारमा आयोगले क्रम निर्धारण गरी निर्वाचन चिह्न राखेको छ । निर्वाचनमा ७९ वटा दल दर्ता भएका छन् । काठमाडौंमा सबैभन्दा बढी ४६ दल दर्ता छन् ।
उम्मेदवारी दर्ता र मतदानको दिन बीचको समय कम रहेकाले ढुवानीमा समस्या हुने भन्दै आयोगले उम्मेदवारी मनोनयनपूर्व नै मतपत्र छापेको हो । निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता छन् । आयोगले मतदानका लागि १० हजार ७ सय ५६ मतदान केन्द्र र २१ हजार ९ सय ५५ मतदान स्थल निर्धारण गरेको छ ।