नेपाल रेडक्रसको जग्गा खरिदमा ठगी, पूर्वअध्यक्षसहित ५ जना पक्राउ

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रक्रियामा करोडौँ रुपैयाँ ठगी र अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५ जनालाई पक्राउ गरेको छ ।

भक्तपुरमा रेडक्रसको गोदाम घर निर्माणका लागि जग्गा खरिद गर्दा बिचौलिया प्रयोग गरी भ्रष्टाचार गरेको र जग्गाको क्षेत्रफलमा समेत ठगी गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

सीआईबीका अनुसार २०७३ सालमा भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नं. ४ (क) मा ५ रोपनी १३ आना ३ पैसा क्षेत्रफलको जग्गा खरिद गर्ने सम्झौता भएको थियो ।

उक्त जग्गा खरिदका लागि कुल ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँ भुक्तानी गरिएको थियो । तर, बोलपत्रको सर्त विपरित बिचौलिया (मध्यस्थकर्ता) मार्फत जग्गा खरिद गरी १ करोड ९३ लाख ७५० रुपैयाँ बिचौलियाले नै खाएको अनुसन्धानबाट खुलेको छ ।

नापी कार्यालय भक्तपुरबाट जग्गा नापजाँच गराउँदा कागजातमा उल्लेख भएभन्दा कम (५ रोपनी ६ आना २ पैसा १ दाम मात्र० क्षेत्रफल भेटिएको छ। मानवीय सेवामा समर्पित हुनुपर्ने संस्थाका पदाधिकारी र कर्मचारीहरूले नै पदको दुरुपयोग गरी रेडक्रसलाई आर्थिक हानी पुर्‍याएको ब्युरोको ठहर छ ।

पक्राउ पर्नेहरूमा पूर्वअध्यक्ष सञ्जिव थापा, राजेश देशमरु, उमेश प्रसाद ढकाल, मदन कृष्ण फोजु, र ईन्द्रबहादुर केसी छन् । भक्तपुर जिल्ला अदालतबाट अनुमति लिई उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिएका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त प्रतिवेदनका आधारमा सीआईबीले यो अपरेशन चलाएको हो ।

ताजा समाचार