उदय सुबेदी
टोकियो । जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षको अवसरमा जापान नेपाल च्याम्बर अफ कमर्स ले जापानमा बसोबास गर्ने नेपाली नागरिकका लागि अझ सुरक्षित, सम्मानजनक तथा सहज वातावरण सुनिश्चित गर्न तथा नेपालमा जापानी लगानी, प्रविधि र औद्योगिक सहकार्य विस्तार गर्न पहल गरिदिन आग्रह गर्दै जापानका न्यायमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।
च्याम्बरले सम्बन्धको सात दशक पूरा हुनु दुवै देशबीचको ऐतिहासिक मित्रता, विश्वास र सहकार्यलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै भविष्यमा आर्थिक, औद्योगिक र प्राविधिक साझेदारीलाई अझ प्रभावकारी बनाइनुपर्ने आवश्यकता औँल्याएको छ।
ज्ञापनपत्रमा जापानमा रहेका नेपाली श्रमिक, विद्यार्थी तथा अन्य नेपाली समुदायको सुरक्षा, कानुनी संरक्षण, श्रम अधिकारको सुनिश्चितता तथा सहज बसोबासका लागि आवश्यक नीतिगत सुधार र सहजीकरण गर्न जापानी सरकारसमक्ष अनुरोध गरिएको छ। साथै नेपाल र जापानबीच जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन दुवै देशका सम्बन्धित निकायबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ।
त्यसैगरी, नेपालमा जापानी लगानी आकर्षित गर्ने वातावरण निर्माण, आधुनिक प्रविधिको हस्तान्तरण, उद्योग स्थापना, रोजगारी सिर्जना तथा सीप विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न जापानी पक्षले सकारात्मक पहल गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएको छ।
च्याम्बरका पदाधिकारीहरूले नेपालमा पूर्वाधार, ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि तथा उत्पादनमूलक उद्योगलगायतका क्षेत्रमा जापानी लगानी र प्राविधिक सहयोगको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै त्यसलाई व्यवहारमा रूपान्तरण गर्न सरकारी तथा निजी क्षेत्रबीचको सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने धारणा राखेका छन्।
उनीहरूले जापान–नेपाल सम्बन्धलाई केवल कूटनीतिक तहमा सीमित नराखी आर्थिक समृद्धि, लगानी, प्रविधि हस्तान्तरण, मानव स्रोत विकास तथा जनस्तरको सम्बन्ध विस्तारमार्फत नयाँ उचाइमा पुर्याउनुपर्नेमा जोड दिएका छन्।
जापान–नेपाल सम्बन्धको ७०औँ वार्षिकोत्सवलाई दुवै देशबीचको दीर्घकालीन मित्रतालाई अझ गहिरो बनाउने अवसरका रूपमा उपयोग गर्दै आगामी दिनमा आपसी हित, लगानी, व्यापार र प्रविधि आदान–प्रदानका क्षेत्रमा सहकार्य थप विस्तार हुने अपेक्षा व्यक्त गरिएको छ।