जापानको कुमामोतोमा गएको ७.१ को भूकम्पमा परी मृत्यु हुनेको संख्या ३४ पुग्यो

टोकियो । जापानको कुमामोतो प्रिफेक्चरमा गएको जुलाई २८ मा गएको शक्तिशाली भूकम्पपछि मृत्यु हुनेको संख्या बढेर ३४ पुगेको छ ।

कुमामोतो प्रिफेक्चरले दिएको जानकारी अनुसार ३४ जनाको मृत्यु भएको हो यो सख्या बढ्न सक्ने अनुमान गरिएको छ। भूकम्पका कारण यातायात तथा औद्योगिक क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ । निप्पोन पेपर कारखानाको संरचना भत्किँदा ८ जनाको मृत्यु भएको र एक जना अझै सम्पर्कविहीन रहेको बताइएको छ ।

कुमामोतोस्थित ‘एओन मल कुमामोतो’मा पनि उद्धार कार्य जारी रहेकोछ । बिहीबार बिहान थप दुई जना फेला परेका थिए । तीमध्ये एक जनाको मृत्यु पुष्टि भएको छ भने अर्का व्यक्तिको उद्धार प्रयास जारी रहेको थियो । यस मलमा मात्रै मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

भूकम्पपछि कुमामोतो प्रिफेक्चरमा ४१५ वटा आश्रयस्थल सञ्चालनमा छन्, जहाँ १० हजार ४०० भन्दा बढी मानिसले आश्रय लिइरहेका छन् । त्यस्तै, करिब ७४ हजार ८०० घरमा खानेपानी आपूर्ति बन्द रहेको र करिब २३ हजार घरमा विद्युत् सेवा अवरुद्ध रहेको सरकारी अधिकारीहरूले बताएका छन् ।

ताजा समाचार