टोकियो
जापानको ओसाकामा आयोजना हुने प्रथम ‘नेपाल फेस्टिभल कान्साई २०२५’को तयारी अन्तिम चरणमा पुगेको । आयोजक गैरआवासीय नेपाली संघ (एनआरएनए) कान्साईले पत्रकार सम्नेलन मार्फत जानकारी दिएको छ ।
पहिलो पटक ओसाकामा आयोजना हुने फेस्टिवलको आयोजक जापान स्थित नेपाली राजदूतबास लगाएत जापानमा रहेका अन्य नेपाली सामाजिक संघसंस्थाको सहआयोजनामा हुन लागेको ‘नेपाल फेस्टिभल कान्साई २०२५’मा वनेपालको परम्परा, कला–संस्कृति र पर्यटनलाई जापानमा प्रवर्द्धन गर्दै दुई देशबिचको मित्रता र सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले यही अप्रिल २६ र २७ मा फेस्टिभल आयोजना हुँदै छ। ओसाकाको क्योवासी, फुलाली पार्कमा आयोजना हुने फेस्टिभलमा करिब २१ वटा स्टल रहनेछन्। जसमा १० वटा नेपाली फुड तथा अन्य ११ वटामा विभिन्न सेवामूलक र स्वास्थ्य शिविर रहने एनआरएनए जापानका उपाध्यक्ष एवं फेस्टिभल मूल आयोजक समिति संयोजक कृष्ण शर्मा गैरेले जानकारी दिए।
पत्रकार सम्मेलनमा आर्थिक व्यवस्थापन समिति संयोजक तुलसीराम खरेल, खाद्य गुणस्तर मापन समितिको संयोजक टीकाराम कँडेल, सांस्कृतिक तथा झाँकी व्यवस्थापन समितिको संयोजक टिआर गौडेल, सुरक्षा तथा स्वयंसेवक व्यवस्थापन समितिको संयोजक भीम काउछा अनुप, प्रचारप्रसार समितिको संयोजक तेज गुरुङ, सचिवालय सदस्य एवं स्टल व्यवस्थापन समिति संयोजक विष्णुप्रसाद सापकोटा, मिडिया व्यवस्थापन समिति संयोजक पुरुषोत्तम लामिछाने, यातायात व्यवस्थापन समिति संयोजक सुवास कँडेल, संघसंस्था समन्वय समिति संयोजक हरि कँडेल, फूलमाला ब्याज व्यवस्थापन समिति संयोजक सपना डल्लाकोटीलगायतले आफ्नो समितिको कार्यप्रगतिबारे जानकारी गराएका थिए।
जापानको नान्काई रेल्वे कम्पनी फेस्टिभलको मुख्य स्पोन्सरको रूपमा छ भने क्योदाई रेमिट्यान्स स्पेसल इभेन्ट पार्टनरको रूपमा छ। ओसाका प्रिफेक्चर, ओसाका नगरपालिका तथा मियाकुजीमा वार्ड कार्यालय, ओसाका चेम्बर अफ कमर्स, ओसाका इन्टरनेसनल हाउस फाउन्डेसन, ओसाका फाउन्डेसन अफ इन्टरनेसनल एक्सचेन्जले समेत उक्त फेस्टिभलका लागि सहयोग गरिरहेका एनआरएनए जापानका विशेषज्ञ समिति सदस्य एवं फेस्टिभल व्यवस्थापन समितिका संयोजक नरेन्द्रकुमार बस्नेत ‘दिनेश’ले जानकारी दिए।
फेस्टिभलमा नेपालका विभिन्न जातजातिका झाँकी तथा सांस्कृतिक समूहको प्रस्तुति तथा नेपाली र जापानी कलाकारहरूको दुई दिनसम्म प्रस्तुति रहने आयोजकले बताएको छ।