एनआरएनएले थाईल्यान्डमा युवा र कम्बोडियामा एसिया प्यासेफिक सम्मेलन गर्ने

काठमान्डौ

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मार्च महिनामा युवा सम्मेलन थाईल्यान्ड र एसिया प्यासेफिक क्षेत्रको क्षेत्रिय सम्मेलन कम्बोडियामा गर्ने भएको छ ।

नेपालबाट युवाहरू विदेश पलायन भइरहँदा देशमा सक्रिय जनसंख्या पातलिँदै गएको अवस्थालाई मध्यनजर गर्दै एनआरएनएले दोश्रो अन्तर्राष्ट्रिय युवा (पिएनओज) सम्मेलन थाइल्याण्डमा गर्ने भएको हो ।

‘यस्तो अवस्थामा विदेशमा रहेका युवा अनि दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई पनि अपनत्व महसुस गराई मातृभूमिसँग जोड्नु वर्तमान अपरिहार्यता भइसकेको छ। अर्कोतर्फ दोस्रो विश्वयुद्धपछि बर्मा, थाइल्याण्ड, मलेसिया, सिंगापुर, फिजी र मोरिसस जस्ता देशहरूमा सातौँ लाख नेपाली मूलका युवा पहिचानको खोजी गर्दै नेपालको समृद्धिमा पुस्तौँदेखि जोडिन खोज्दैछन्। यसरी विदेशमा बस्दै आएका नेपाली मुलका लाखौँ नेपालीले पनि नेपाली हुनुको गर्व गर्दै पहिचान माग्दै आएको वर्तमान अवस्था छ जसलाई हामी नेपाली मूलका नेपाली (पिपुल अफ नेपाली अरिजिन– पिएनओज) भन्छौं,’ उहांहरुलाई समेटन कार्यक्रम आयोजना गरिएको एनआरएनएका अध्यक्ष बद्री केसीले बताउनु भयो ।

इम्पावरिङ द युथ, सार्पिङ द पिएनओज फ्युचर भन्ने मूल नाराका साथ युवा सम्मेलन आयोजना हुने दोश्रो युवा सम्मेलन थाइल्याण्डको बैंककमा १५ –१६ मार्च २०२५ मा आयोजना हुने उपाध्यक्ष रामशरण सिम्खडाले बताउनु भयो ।

नेपाली प्रवासी युवाहरूलाई सशक्त बनाई उनीहरूलाई नेपालको समृद्धि र विकाससँग जोड्ने अन्तर्राष्ट्रिय युवा सम्मेलनको मुख्य उद्देश्य रहेको बताउदै सिम्खडाका अनुसार सम्मेलनले नेपाली प्रवासी युवा, पिएनओज्, र नेपालका स्थानीय युवाहरू बीच मजबूत साझेदारी स्थापना गर्ने, युवामा सशक्तिकरण र नवप्रवर्तनको संस्कृतिलाई प्रेरित गर्नका लागि संघर्ष अनि सफलताका कथा र सिकाइहरूको आदान–प्रदान गर्ने अपेक्षा राखिएको बताउनु भयो ।

त्यस्तै १८–१९ मार्च २०२५ मा कम्बोडियामा १० औं एसिया-प्यासिफिक क्षेत्रीय सम्मेलन हुने भएको छ।

जसबाट समृद्ध राष्ट्रको लागि गैरआवासीय नेपालीहरुको भूमिका, गैरआवासीय नागरिकताको पूर्ण कार्यान्वयन, पिएनओजका माग लगायत नेपालमा लगानी, पर्यटन प्रवर्द्धन, सम्मानजनक वैदेशिक रोजगारी तथा सामाजिक सुरक्षा कोषमा प्रभावकारी आबद्धता, प्रवासबाट मताधिकार जस्ता विषयमा पनि छलफल हुने एनआरएनका अर्को उपाध्यक्ष रोविन प्रसाद शेरचनले बताउनु भयो ।

शेरचनले एसिया प्यासेफिक क्षेत्रले एआईको जमानमा सास्कृतिक सम्बृद्री सहितको दिगो बिकासमा जोड दिने उदेष्य रहेको बताउनु भयो ।

ताजा समाचार