पुस्तक विमोचन,पुरस्कार वितरण, साहित्यिक परिचर्चा सहित अनेसास जापानको आयोजनामा ‘नागोया साहित्य उत्सव’सम्पन्न(फोटो सहित)

टोकियो

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको आयोजना तथा जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदीको प्रमुख आथित्यतामा नागोया साहित्य उत्सव सम्पन्न गरेको छ ।

कार्यक्रमको आकर्षणको रुपमा रहेको गजल मेहफिल नाम दिईएको गजल गायन/वाचनमा गजलकारहरू दिनेशराज ज्ञवाली, गिरिजा गैह्रे, अमरदेव वास्तोला, मीनराज वास्तोला, गंगा गगन र विकास लम्सालले गजल प्रस्तुत गरेका थिए त्यसैगरी कार्यक्रममा विभिन्न स्रष्टाहरुको पुस्तकहरु विमोचन भएका थिए । सुविन न्यौपानेको कान्जिभाईको कबिता संग्रह कमरेडको जनै र श्यामराज राईको लघुकथा संग्रह हाम्रो बाटो एकैसाथ बिमोचन भएको थियो। विमोचनमा कवि सुविन न्यौपानेले आफ्नो धारणा राख्दै संग्रहबाट एउटा कविता वाचन गरे भने कथाकार स्यामराज राईले कथा संग्रह बारेमा आफ्नो धारणा राखेका थिए ।

बहस एवं छलफल समेत भएको कार्यक्रममा ‘प्रवासमा नेपाली भाषा र साहित्य विषय र यसका विविध पाटाहरू’ विषयमा साहित्यिक बहस कार्यक्रममा अनेसास केन्द्रका निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइला, नेपाली भाषा तथा साहित्यका अध्येता जापानी नागरिक हारुहितो नोजू तथा महिला अभियन्ता सविता पन्थीलाई वक्ताका रूपमा प्रस्तुत गरिएको थियो।

अनेसास जापानले आयोजना गरेको जापानव्यापी कविता प्रतियोगिताका उत्कृष्ट तीन कविलाई पुरस्कार प्रदान गरिएको कार्यक्रममा जापानमा क्रियासील सर्जकहरुले रचनाहरू वाचन भएका थिए।

जापानमा क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधि तथा साहित्य प्रेमीहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा अनेसास केन्द्रका सचिव दीप पाठक, बिओटी सदस्य शुष्मा ओमाता, एनआरएन आइसिसि उपाध्यक्ष गोबिन्द श्रेष्ठ रोविन, श्रवण सत्याल, दिपक कार्की लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा प्रत्यक्ष सहभागी सम्पूर्ण सर्जक, वक्ता तथा सहयोगदाताहरूलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो भने अनेसास जापानका पूर्व अध्यक्ष विष्णु प्रसाद घिमिरेको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा शरद पोख्रेल, अनिल कुमार निर्दोष र श्याम शीतलले विभिन्न विषयका कार्यक्रमहरुके सहजीकरण गरेका थिए।

संस्थाका अध्यक्ष रविन शर्माले कार्यक्रम सम्पन्न गर्न भूमिका खेल्ने सम्पूर्ण पक्षलाई धन्यवाद ज्ञापन गर्दै नागोया साहित्य उत्सव २०२२ को समापन गरेका थिए।

ताजा समाचार