सर्लाहीमा वडाध्यक्षको हत्या

मलंगवा 

सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राती हत्या गरिएको छ। जेसिबीले ठक्कर दिई वडाध्यक्ष श्रेष्ठको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक संतोष सिंह राठौरले जानकारी दिए।

जेसिबी चालकसँग विवाद हुदाँ रिसको झोकमा चालकले जेसिबीले ठक्कर दिई हत्या गरिएको प्रहरीले जनाएको छ। भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरी खनेर स्तरोन्नति गर्ने काम भइरहेको थियो।

शुक्रबार राती अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्कबहादुर तामाङले नजिकैको होटलमा सँगै खाजा खाएका थिए। राती १० बजेपछि खाजा खाएर फर्किने क्रममा जेसिबका चालक तामाङसँग वडाध्यक्ष श्रेष्ठको विवाद भएको थियो।  

सोही क्रममा पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबको बकेटले ठक्कर दिएर लडाएको र त्यसपछि माटोले पुरेको देखिएको प्रहरी उपरीक्षक (एसपी)  राठौरले बताएका छन्। ‘घटना पूर्व रिस्वी वा पूर्व योजनामा भएको देखिदैन्’, एसपी राठौरले भने, ‘ केही बेर अगाडिको भएको झगडाको आवेशमा आई हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखिन्छ।’ 
घटनाबारे जानकारी पाउनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर अचेत अवस्थामा रहेका वडाध्यक्ष श्रेष्ठलाई जिल्ला अस्पताल मलंगवा ल्याएका थिए। अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। वडाध्यक्ष श्रेष्ठको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा मै राखिएको छ। 

प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३, कै ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका–१, का ३८ वर्षीय रविन भन्ने हर्कबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ।

दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको र फरार रहेका जेसिबी चालक तामाङलाई शनिबार बिहान ५:४० बजेतिर लालबन्दीबाट पक्राउ गरिएको एसपी राठौरले बताए। उनीहरु दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसंधान भइरहेको एसपी राठौरले जानकारी दिएका छन्। 

ताजा समाचार