काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयको भागबन्डा आजभोलि नै टुंगो लाग्ने बताएका छन्।
सहिद प्रतिष्ठान नेपालको १२औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अर्थ र उर्जामन्त्रालय लिइसकेका छौं । अरु मन्त्रालय आजभोलि नै टुंगिदैछ ।’ उनले जनयुद्ध र जनआन्दोलनका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने गृहकार्य भइरहेको समेत जानकारी दिए ।
‘अहिले गठबन्धनको सरकार छ। हामीले अर्थ र ऊर्जा मन्त्रालय लिइसकेका छौं,’ उनले कार्यक्रममा भने, ‘बाँकी मन्त्रालयको टुंगो पनि आजभोलि मै लाग्छ।’
उनले जनआन्दोलन र जनयुद्धुका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रक्रिया गठबन्धनको सरकारले अघि बढाइसकेको बताए।
‘हिजो म हुँदा गरेको निर्णय राजपत्रमा प्रकाशित गर्ने काम नगरेर समस्या गरियो,’ उनले भने, ‘त्यो बेला बदनियत राखेर कसले गल्ति काम गरेर समस्या भयो। तर, अहिले गठबन्धनको सरकार छ। त्यसबाट हामीले निर्णय गराउँछौं।’
उनले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा पनि सहिद परिवारका विषयमा उल्लेख गरेको भन्दै आवश्यक राहत लगायतका कार्यक्रम ल्याइने दाबी गरे।