पहिलो पटक चिवामा हुने ‘प्रथम माचुदो-नेपाल फेष्टिवल’को तयारी अन्तिम चरणमा

टोकियो

जापानको चिवामा पहिलो पटक आयोजना आगामी सेप्टेम्बर २२ तारिख चिवा माचुदो शहरको सेन्ट्रल पार्कमा आयोजना हुने प्रथम माचुदो-नेपाल फेष्टिवल’ २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ ।

शुक्रबार चिवाको फुनावासीमा पत्रकार सम्मेलन गरेर फेष्टिवल आयोजक समितिले जापानी समुदायमा नेपालको कला संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको एक दिने फेष्टिवलमा नेपाली तथा जापानीहरूको विविध कार्यक्रम आयोजना हुने मूल आयोजक समितिका संयोजक राजनबाबु सुवेदीले जानकारी दिएका थिए ।

संयोजक सुवेदीका अनुसार नेपाली तथा जापानी मौलिक खाना सहितका आठवटा स्टल रहने छन् भने व्यावसायिक तथा नेपाली पर्यटन प्रवर्द्धन गर्ने थप १५ वटा स्टल रहने छन् । फेष्टिवल माचुदो शहरका मेयर तथा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीबाट संयुक्तरूपमा उद्घाटन गरिने छ । फेष्टिवलमा माचुदो शहरका विशिष्ट पदाधिकारीहरू सहित स्थानीय ख्यातिप्राप्त जापानी कलाकारहरूले प्रस्तुति दिने छन् भने नेपाली मौलिक जातीय नृत्य सहित पञ्चेबाजा लगायतका नेपाल झल्कने प्रस्तुति हुनेछ ।

पाली मण्डला, लुम्बिनी, हिमाल पहाडको सेल्फी स्थल सहित नेपाली मौलिक बाजा सारंगीसंगै फोटो खिच्न पाइने स्थानको तयारी समेत गरिएको सुवेदीले जानकारी दिए । टोकियो महानगरसँग सिमाना जोडिएको माचुदो शहर चिवा, ईवाराकी तथा साईतामा राज्यसँग पनि यातायातको सहज सुविधा रहेको सो अवसरमा जानकारी दिइएको थियो । फेष्टिवलमा नेपाली तथा जापानीहरूको उल्लेख्य सहभागिता हुने अपेक्षा आयोजकले गरेको छ ।

माचुदो शहरको समेत संयुक्त सहकार्य रहेकाले जापानी समुदायको समेत उल्लेख्य सहभागिता रहने मूल आयोजक समितिका सदस्य तथा माचुदो शहर अन्तर्राष्ट्रिय सांस्कृतिक समिति सल्लाहकार रामकृष्ण बम मल्लले जानकारी दिए । पहिलो पटक जापानीहरूसँगको सहकार्यमा आयोजना हुने फेष्टिवलमा फोहोर व्यवस्थापन, सुरक्षा तथा नेपाली सभ्यता मुख्य चुनौती रहेकाले हामीले विशेष ध्यान दिएको छ ।

करिब पचास लाख खर्च अनुमान गरिएको फेष्टिवलमा हाल जापान भरिबाट आर्थिक सहयोग जुटिरहेको संयोजक सुवेदीले जानकारी दिए । फेष्टिवललाई सफल पार्न स्वयंसेवक सहित जापानवासी नेपालीहरूमा रचनात्मक सहयोगको अपिल गरिएको छ । कार्यक्रममा फेष्टिवल मूल समिति मातहतका उपसमिति पदाधिकारीहरूले आआफ्नो तयारी बारेमा जानकारी गराएका थिए ।

ताजा समाचार