टोकियो
योग्य वर खोज्न वधुले गर्ने संघर्षको कथालाई प्रस्तुत गरिएको नेपाली फिल्म ‘बेहुली फ्रम मेघौली’को प्रर्दशन जापानमा हुने भएको छ ।

निश्चल बस्नेत र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको यो फिल्मको ३० वर्ष लागेकी छोरीलाई विवाह गराउन परिवारले समेत कति सास्ती खेप्नुपर्छ भन्ने कथावस्तु यसमा रहेको छ । रमाइलो र हास्य तत्व मिसाएर बनाइएको यो फिल्म गम्भीर सामाजिक अर्थ पनि बोकेको छ । विवाह संस्कृति र योग्य जीवनसाथी खोज्नुपर्ने सामाजिक र वैयक्तिक दबाबको कथा यसभित्र छ ।
टोक्यो ड्रिम्स ईन्टरटेन्मेन्टले जापानमा हुने सबै प्रर्दशन गर्ने जिम्मा लिएको छ । आयोजकले दिएको जानकारी अनुसार टोकियोको ईकेबुकोरो, सिनागावा एवं साईतामा लगायतका क्षेत्रमा रहेको ब्यवसायिक फिल्म हलमा पहिलो पटक नेपाली फिल्म देखाउन लागिएको छ ।

‘लुट’ डेब्यु निर्देशक बस्नेतले यसमा अष्ट्रेलिया रिटर्न युवकको भूमिका निर्वाह गरेका छन् । खड्कालाई चाहिँ योग्य वर खोजिरहेकी ३० वर्षिया युवतीको रोलमा देख्न सकिन्छ ।
फिल्ममा बसुन्धरा भुषाल, बिजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको पनि अभिनय छ ।
दशैंको घटस्थापना अर्थात् असोज १७ गतेबाट प्रदर्शनमा आउने जनाइएको छ । ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ ।