टोकियो
नेपालको कला संस्कृती, पर्यटन सहित नेपाल प्रबर्द्धनका लागि आगामी जुलाई ३० र ३१ तारिखमा नेपाल फेस्टिवल आयोजना हुने भएको छ ।
गैर आवासिय नेपाली संघ जापानको आयोजनामा जापानको राजधानी टोकियोको स्थित नाकानो वार्डमा रहेको नाकानो सिकि नो मोरी पार्कमा नेपाल फेस्टिवल आयोजना गरिने तय भएको गैर आवासिय नेपाली संघ, जापानका अध्यक्ष शिव प्रसाद पौडेलले जानकारी दिनुभयो ।
नेपाल फेस्टिवलमा, जापानिजहरुलाई नेपाल चीनारी, पर्यटन प्रबर्द्धनका लागि विभिन्न कार्यक्रम सहित नेपालीहरुबिच भेटघाट र आपसी भाइचारा अभिबृद्धिको मुख्य उदेष्य रहेको छ ।
यस पटकको नेपाल फेस्टिवल नेपाल र जापानी समुदायको सहभागीतामा आयोजना तयारी भइरहेको एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो । फेस्टिवल आयोजना र स्थानिय सरकारसँग सहकार्यको लागि यसअघि अध्यक्ष शिवप्रसाद पौडेल सहितको टोलिले नाकानो सिटिका मेयर नाओतो साकाइ लगायतसँग भेटवार्ता गरिसकेको छ ।
जापानका पूर्व सांसदद्धय कोमियामा योशिहारु, मासामी निशिमुरा लगायत व्यक्तित्वहरुबाट समेत फेस्टिवलमा जापानी निकाय र समुदायको सहभागीताको लागि सक्रिय सहयोग र परामर्श पाइराखेको महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।
फेस्टिवल आयोजनाको तयारी स्वरुप एनआरएनए जापानले यहि मे १५ तारिख बैठक गरेर आवश्यक समितिहरु घोषणा गर्ने भएको छ । जसमा युवा परिचालन, आर्थिक व्यवस्थापन, सांस्कृतिक प्रस्तुती, स्टल, फोहोर देखि अतिथि सत्कार लगायत आवश्यक सबै कुराको लागि कामको बाँडफाँड गरिने महासचिव सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।
फेस्टिवल आयोजनाको लागि मुल आयोजक कमिटि संयोजकमा अध्यक्ष शिव प्रसाद पौडेल रहनुहुने भएको छ । मुल आयोजक कमिटि अन्तर्गत उपसमिति बनाईने तथा फेस्टिवल संयोजक समेत तोकिने भएको एनआरएनए जापानका प्रवक्ता सुवास लामिछानेले जानकारी दिनुभयो । नेपाल फेस्टिवल मार्फत जापानी पर्यटकहरुलाई नेपाल चिनाउन र नेपाल भ्रमणमा आकर्षित गराउन यहि मे ९ तारिख नाकानो पर्यटन बोर्डका अध्यक्ष सहितको टोलिसँग एनआरएनए जापानको टोलिले छलफल गर्ने भएको लामिछानेले जानकारी दिनुभयो ।
अहिलेसम्मकै फरक र भव्य बनाउन तयारी थालिसकिएको बताउँदै प्रवक्ता लामिछानेले जापानमा नेपाल चिनारी झल्काउने तथा नेपाल र जापानबिचको सम्बन्ध थप प्रगाढ बनाउनेगरि फेस्टिवललाई सांस्कृतिक रुपमा समेत विशेष बनाईने बताउनुभयो ।