पोखरा
देश संघीयतामा गएपछि पहिलो पटक नेपाली कांग्रेसको प्रदेश समितिको चुनाव हुँदैछ ।
१४ औं महाधिवेशन अन्तर्गत मंसिर १६ गते हुने प्रदेश समितिको निर्वाचनबाट पहिलो सभापतिको इतिहास लेखाउन नेताहरुको होड छ । गण्डकी प्रदेश समितिको सभापति बन्न पूर्व मन्त्री, सांसद र जिल्लाका नेताहरुको दौडधुप सुरु भएको छ ।
कास्कीका कांग्रेस नेता देवराज चालिसेले बुधबार प्रदेश कमिटी सभापतिका लागि उम्मेदवारी घोषणा गर्दै अन्य आकांक्षीलाई उछिने । कांग्रेस पार्टी रुपान्तरणका लागि भन्दै पौडेल समूहका चालिसे प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्ने पहिलो उम्मेदवार बने ।
पौडेल समूहकै पूर्वमन्त्री यज्ञबहादुर थापाले पनि प्रदेश सभापतिका लागि दाबी गरेका छन् भने कास्की कांग्रेसमा प्रभाव जमाइरहेका पूर्व सांसदसमेत रहेका शुक्रराज शर्माले नेतृत्व हात पार्न कसरत गरिरहेका छन् । पौडेल समूहकै मानिने शर्माले सभापति हात पार्ने कसरतका साथ पौडेल समूहलाई पनि प्रभावमा पारेर देउवा क्याम्पमा लागेकोसमेत कांग्रेस वृतमा चर्चा चलिरहेको छ ।
सभापति देउवा समूहका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीलाई पनि प्रमुख दाबेदारको रुपमा हेरिएको छ । तनहुँ कांग्रेसका पूर्वसभापति रघुनाथ पौडेलले पनि आफू प्रदेश सभापतिका लागि उम्मेदवार बनेको घोषणा गरिसकेका छन् ।
प्रदेश सभापतिका लागि अहिलेसम्म देखिएका पाँच जना आकांक्षीमध्ये चार जना पौडेल समूहकै छन् र उनीहरुको एकै खालको भनाइ छ– अहिले भइरहेको कांग्रेस नेतृत्वको प्रवृत्ति परिवर्तन र पार्टी रुपान्तरणका लागि उम्मेदवारी दिन लागेका हौं ।’
उम्मेदवारी घोषणा गर्ने दौडमा पहिलो बनेका कास्कीका नेता चालिसेले ११ जिल्लाका महाधिवेशन प्रतिनिधिले आफूलाई उम्मेदवारी दिन प्रेरित गरेको र जित्ने आत्मविश्वासका साथ चुनावी मैदानमा होमिएको दाबी गरे । ‘नेपाली कांग्रेसले नयाँ परिभाषा मागेको छ । २१ औं शताब्दीको पार्टीलाई हाँक्ने, नयाँ रक्तसञ्चार गर्ने नेता खोज्दैछ । कांग्रेसलाई नयाँ उचाइमा पुर्याउने ओजनदार व्यक्तित्व खोजिरहेको छ,’ चालिसेले उम्मेदवारी घोषणा गर्दै भने, ‘भूतपूर्वको बिल्ला भिरेर योग्यताको मापदण्ड पुग्दैन ।’
पहिलो पटक हुन लागेको कांग्रेस प्रदेश कार्यसमितिमा सभापति एक, उपसभापति २, महामन्त्री २ र १ महिलासहित ३ जना सहमहामन्त्री हुनेछन् । प्रदेश सभापतिले निर्वाचित सदस्यहरुबाट नाम प्रस्ताव गरी निर्वाचित कार्यसमितिबाट १ जना कोषाध्यक्ष चुनिने छन् ।