काठमाडौँ — जनकवि दुर्गालाल श्रेष्ठ साथीभाइसँगको भेटघाटमा प्रायः एउटा सम्झना दोहोर्याएर सुनाउन चाहन्थे । त्यसमा उनलाई गर्व पनि थियो ।
उनी भर्खर ११ वर्षका मात्र थिए । नेपाल भाषामा एउटा नाटक लेखेछन् र त्यसलाई निर्देशन गरेर आफैंले खेलेका पनि रहेछन् । त्यति बेला टोलटोलमा नाटक प्रदर्शन गर्ने चलन थियो । उनको यही सम्झनालाई मात्रै आधार मान्दा आठ दशकभन्दा बढी समय उनले साहित्य सिर्जनामा बिताए ।
आधुनिक नेपाल भाषाको साहित्यमा सबैभन्दा लोकप्रिय यिनै कविको आइतबार राति निधन भएको छ । यससँगै उनको त्यति लामो साहित्यिक यात्रामा पनि पूर्णविराम लागेको छ ।
नाटक लेखनबाटै साहित्य क्षेत्रमा लागेका श्रेष्ठको नेपाल संवत् १०७५ मा ‘धर्मोदय’मा एउटा कविता छापिएको थियो । त्यसको शीर्षक थियो ‘सान्त्वना’ । पछि उनको परिचय कविकै रूपमा बढी भयो, भलै गीतकार, नाटककार र अनुवादक सबै हुन् उनी ।
उनको साहित्यिक यात्रालाई नजिकबाट हेर्ने मौका पाएका निबन्धकार रमेशकाजी स्थापितका अनुसार श्रेष्ठका कविताको सबैभन्दा ठूलो विशेषता भन्नु नै ती गीतजस्तै हुनु हो । उनका जति पनि कविता छन्, ती सबै लय राखेर गीत गाउन सकिने खालका छन् । त्यस अर्थमा उनका कविता गेयात्मक नै रहे ।
उनको पहिलो कृति ‘चिनियाम्ह किसिचा’ बाल कवितासंग्रह हो । यो नेपाल भाषामा अहिलेसम्म निस्केका कृतिमध्ये सबैभन्दा धेरै बिक्री भएकामा पर्छ । जनकवि श्रेष्ठका एक दर्जनभन्दा बढी कवितासंग्रह निस्केका छन् । गीतसंग्रहका नामबाट पनि पुस्तक प्रकाशनमा छन् । अधिकांश गीत राष्ट्रियता, देशभक्तिसँगै भाषा र जातिको उत्थानमा केन्द्रित छन् । नेपाली भाषामा पनि उनले धेरै गीत लेखेका छन् । त्यसमध्ये ‘फूलको आँखामा फूलै संसार’ सबैभन्दा चर्चितमा पर्छ । उनको नाटकसम्बन्धी अलगै कृति पनि निस्केको छ ।
निबन्धकार स्थापित भन्छन्, ‘जनकवि दुर्गालालको जति कवितामा कलम चल्थ्यो, सायद त्योभन्दा बढी नाटकमा दौडिन्थ्यो । तर उनको नाटककारको छवि कविता र गीतले छोपेको जस्तो लाग्छ । अन्यथा, उनका नाटक उत्तिकै उत्कृष्ट रहेका छन् ।’ उनी के पनि मान्छन् भने श्रेष्ठको अर्को व्यक्तित्व नेपालभाषा सेवी र आन्दोलनकारी पनि हो । उनी भाषा अभियन्ताभन्दा धेरै माथिका थिए ।
रेडियो नेपालले नेपाल भाषामा प्रसारण हुँदै आएको समाचार २०२२ सालमा बन्द गरेपछि एउटा आन्दोलन चलेको थियो । त्यसका एक सशक्त योद्धाका रूपमा उनी रहे । तत्कालीन सरकारको एक भाषा नीतिविरुद्ध उपत्यकाका टोलटोलमा एक वर्ष साहित्य सम्मेलन आयोजना भएको थियो । ती सबैमा उनी सक्रियपूर्वक भाग लिन्थे । पछि उनले त्यही सिलसिलामा लेखेको एउटा कविता खुबै चर्चित छ । त्यसको नेपाली अनुवाद हुन्छ– ‘घाउ भएर मात्र रोएको हुँ, दुःखेर मात्र आवाज उठाएको हुँ/ हामी मरेका छैनौं, हामी मरेका छैनौं भनेर चिह्न देखाएको मात्र हो ।’
नेपाल भाषा मंकाः खलःका पनि उनी संस्थापक सदस्य थिए । व्यक्तिगत रूपमा उनीसँग नजिक रहेका पत्रकार तथा नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरका अनुसार उनको निधन नेपाल भाषा साहित्यका लागि ठूलो क्षति हो । ‘उनी लेख्नकै लागि जन्मेका थिए, एक प्रकारले सरस्वतीकै पुत्रका रूपमा,’ मल्ल भन्छन् ।
श्रेष्ठका लेखन आम पाठकले पनि सजिलै बुझ्न सक्छन् । उनको भाषा असाध्यै सरल छ, त्यसले बोक्ने भाव भने उत्तिकै गहन । यिनै कारण दुई दशकअगाडि नेपाल भाषा परिषद्ले उनलाई जनकवि उपाधि दिएको थियो । उनको अक्षर लेखन असाध्यै सुन्दर र चिटिक्क मिलेका हुन्थे । त्यसैले उनकै सम्मानमा ‘दुर्गालाल फन्ट’ पनि प्रचलनमा रहेको छ ।
आशामोती र गणेशलालका पुत्र भएर उनी भित्री काठमाडौंको न्ह्याकटोलमा नेपाल संवत् १०५७ मा जन्मिएका थिए । बुढानीलकण्ठस्थित आफ्नै निवासमा आइतबार राति निधन हुँदा उनी ९३ वर्षका थिए । अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई मंगलबार नेपाल भाषा मंका खलःको विजेश्वरीस्थित भवनमा राखिनेछ । त्यसपछि शवयात्रासहित कर्णदीपमा दाहसंस्कार गरिनेछ ।