जापान यात्रा: ११ वर्षको कथा र एउटा अनौठो रूपान्तरण,सागर बने ‘जस्मिन’पौडेल

११ वर्षअघि १८ वर्षीय सागर पौडेल जापान उडेका थिए—सपना थियो पैसा कमाउने र परिवारको भविष्य बनाउने।

जापान पुगेपछि भने उनले आफ्नो वास्तविक पहिचान भेटिन्। वर्षौंको संघर्ष, हार्मोन उपचार र करिब ५० लाख रुपैयाँ खर्चको शल्यक्रियापछि सागरले आफूलाई ‘जस्मिन’का रूपमा स्वीकार गरिन्।

जापानमा मासिक लाखौं कमाउँदा पनि मनमा भने एक्लोपन थियो। आमाबुबासँग हात समातेर हिँडिरहेका मानिस देख्दा उनी भावुक हुन्थिन्। सबैभन्दा ठूलो डर थियो—‘घर फर्किँदा परिवारले मलाई स्वीकार गर्ला?’

दुई महिनाअघि नेपाल फर्किँदा त्रिभुवन विमानस्थलमा पासपोर्टमा ‘सागर’ र अगाडि ‘जस्मिन’ देखिएपछि सुरक्षाकर्मीले उनलाई छुट्टै कोठामा लगेर सोधपुछ गरे।

तर त्योभन्दा ठूलो परीक्षा घर पुगेपछि थियो।

सुरुमा बुबाले छोरालाई छोरी बनेर फर्किएको देख्दा केही असहज महसुस गरे। तर केही समयपछि बुबाले भने—

“तँ जस्तो छस्, मेरो छोरी होस्। मेरो लागि राम्रो मान्छे होस्।”

त्यो एक वाक्यले जस्मिनको ११ वर्षदेखिको पीडा र डर सबै पखालिदियो।

कागजमा उनी अझै सागर पौडेल हुन्। तर आफ्नो परिचयमा उनी भन्छिन्—

“कागजमा सागर होला, तर मेरो आत्मा, अस्तित्व र जीवन जस्मिन हो।”

अब जापानमा सिकेको भाषा र अनुभव बोकेर जस्मिन आफ्नै गाउँ गैंडाकोटमा नयाँ जीवन सुरु गर्न चाहन्छिन्।

ताजा समाचार