उदय सुबेदी
टोकियो । जापानमा एउटै कम्पनी वा कार्यस्थलमा काम गर्ने सहकर्मीबाट विभिन्न बहानामा हैरानी, असहज व्यवहार तथा मानसिक दबाब भोग्ने कर्मचारीको संख्या उल्लेख्य रहेको एक सर्वेक्षणले देखाएको छ।
जापानबाट प्रकाशित हुने साप्ताहिक पत्रिका ‘स्पा’ ले गरेको सर्वेक्षणमा सहभागी करिब २ हजार कम्पनी कर्मचारीमध्ये झण्डै ४० प्रतिशतले सहकर्मीको व्यवहारका कारण समस्या भोगिरहेको बताएका छन्।
सर्वेक्षणअनुसार, कतिपय सहकर्मीले सुरुमा रमाइलो वा मजाकका नाममा अरूलाई हेप्ने, जिस्क्याउने वा असहज बनाउने गरे पनि यस्तो व्यवहार क्रमशः नियमित बन्दै जाने गरेको पाइएको छ। कतिपय अवस्थामा भने अरूलाई दुःख दिने व्यवहार जानाजान दोहोरिने र पछि त्यो व्यक्तिको बानीजस्तै बन्ने गरेको अध्ययनले देखाएको छ।
यस्ता व्यवहारका कारण कामको चापसँगै कर्मचारीमा थप तनाव, मानसिक दबाब र असहजता सिर्जना हुने गरेको पाइएको छ। लामो समयसम्म यस्तो वातावरणमा काम गर्नुपर्दा मानसिक तथा शारीरिक स्वास्थ्यमा समेत नकारात्मक असर पर्न सक्ने देखिएको छ।
अध्ययनले सबै असहज व्यवहार गर्ने व्यक्तिले अरूलाई दुःख दिने उद्देश्य नै राखेको हुन्छ भन्ने निष्कर्ष भने निकालेको छैन। कतिपय अवस्थामा आफ्नो व्यवहारले सहकर्मीलाई कस्तो असर गरिरहेको छ भन्ने सम्बन्धित व्यक्तिलाई नै थाहा नहुन सक्ने बताइएको छ।
त्यस्तै, निरन्तर हेपाइ वा असहज व्यवहार भोगिरहेको व्यक्तिले आफ्नो आत्मसम्मान जोगाउने क्रममा पछि अर्कामाथि आक्रामक वा असहज व्यवहार देखाउन सक्ने सम्भावना पनि अध्ययनले औंल्याएको छ।
यसले एउटै कार्यस्थलमा ‘समस्याग्रस्त सहकर्मी’ को धारणा दुवै पक्षमा फरक हुन सक्ने देखाउँछ। एक व्यक्तिले अर्को सहकर्मीलाई समस्या ठानेको अवस्थामा अर्को पक्षले पनि उसैलाई समस्याको कारण ठानिरहेको हुन सक्छ।
कार्यस्थलमा हुने यस्ता व्यवहारलाई सामान्य मजाक वा सहकर्मीबीचको व्यक्तिगत विषयका रूपमा मात्र नहेरी स्वस्थ, सम्मानजनक र सुरक्षित कार्य वातावरण निर्माण गर्न कम्पनी तथा व्यवस्थापनले समेत ध्यान दिनुपर्ने आवश्यकता सर्वेक्षणले देखाएको छ।