इसराइलले इरानमा आक्रमण गरेको छ।
शनिबार बिहान इसराइलका रक्षामन्त्री इसराइल कात्जले इरानमा हमला गरिएको घोषणा गरेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।
इरानमा हमलापछि इसराइलले देशभरि आपतकाल घोषणा गरेको बिबिसीले जनाएको छ।
शनिबार बिहान तेहरानको डाउनटाउन क्षेत्रमा थुप्रै विस्फोटका आवाज सुनिएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रारम्भिक रिपोर्टअनुसार मिसाइलहरू दानेशगाह स्ट्रीट र जोम्हुरी क्षेत्रमा खस्दा ठूलो विस्फोट भएको देखिएको छ।
इसराइली सेनाले देशका विभिन्न स्थानमा हवाई हमलाको संकेत दिने साइरन बजाएको छ। यसबाट त्यहाँका जनताहरू सुरक्षित स्थानमा रहुन् भनेर सेनाले साइरन बजाएको बिबिसीले जनाएको छ।
सेनाले यस कदमलाई ईरानबाट संभावित प्रतिकारको सामना गर्न सतर्कताको उपाय भनेको छ।
साउदी अरेबियाले इरानद्वारा अन्य खाडी मुलुकमा गरिएको हमलाको निन्दा गरेको छ । इरानले शनिबार युएई, बहराइन, कतार, जोर्डन र कुवेतको भूमिमा मिसाइल आक्रमण गरेको थियो । जसको विरुद्ध साउदी अरेबियाले कडा शब्दमा निन्दा गरेको हो ।
अमेरिका र इसराइलले हमला गरेपछि इरानले इसराइल र अमेरिकी सैन्य अड्डा रहेको मध्यपूर्वका अन्य देशहरूमा हवाई आक्रमण गरेको छ। साउदीले राष्ट्रको सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तहरूको निरन्तर उल्लंघन भइरहे इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएको छ ।
इजरायल र इरानबिच आक्रमण सुरु भएपछि कतार, कुवेत र युएईले आ-आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् । शनिबार इजरायलले इरानका विभिन्न सहरहरूमा हवाई आक्रमण गरेको थियो ।