जापान सरकारले लागु गरेको कर तथा बीमा नियमहरुका बारेमा जानकारी दिन अन्तरक्रिया कार्यक्रम हुने

टोकियो। जापानमा बसोबास गर्ने विदेशी नागरिकहरूले जापानमा रहँदा पालन गर्नुपर्ने नियमहरू तथा जापान सरकारले कडाइका साथ लागू गरेको सामाजिक सुरक्षा सम्बन्धी व्यवस्था बारेमा जानकारी दिने उद्देश्यले आगामी फेब्रुअरी २८ तारिख एक अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ।

जापानको सामाजिक सुरक्षा प्रणाली अन्तर्गत अनिवार्य गरिएको स्वास्थ्य बीमा, श्रम बीमा तथा बसोबास कर (जाइर्यु स्टाटस) सम्बन्धी नियमहरूका बारेमा जापानमा बसोबास गर्ने विदेशी नागरिकहरूले पालन गर्नुपर्ने कानुनी व्यवस्थाबारे जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। आयोजक संस्था गुल्मेली समाज जापानका सचिव तथा कार्यक्रम संयोजक कामना भण्डारीले जापान सरकारले लागू गरेको बीमा (शाकाई होकेन/कोकुमिन होकेन) तथा कर प्रणाली सम्बन्धी विषयमा धेरै नेपालीहरूको जिज्ञासा भएको र समाधान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा जापान सरकारले कडाइका साथ लागू गरेको बीमा प्रणाली (शाकाई होकेन/कोकुमिन होकेन), पेन्सन तथा बसोबास कर सम्बन्धी नियमहरूबारे विज्ञ निशिदा आकिहिरोले जानकारी दिने कार्यक्रम रहेको छ। साथै सहभागीहरूले प्रत्यक्ष अन्तरक्रियामार्फत आफ्ना जिज्ञासा राख्न सक्ने व्यवस्था गरिएको छ।

कार्यक्रममा भिसाको प्रकारअनुसार लागू हुने बीमा तथा सामाजिक सुरक्षा सम्बन्धी नियमहरू, साथै कम्पनी र व्यक्तिले अनिवार्य रूपमा पालन गर्नुपर्ने बीमा, कर तथा नियमहरुको जानकारी प्रदान गरिनेछ।

उक्त अन्तरक्रिया कार्यक्रम सिन्जुकुस्थित शिन–ओकुबोको सोलमारी मुरा हलमा फेब्रुअरी २८ (शनिबार) बिहान ११ बजेदेखि आयोजना हुनेछ। कार्यक्रममा प्रवेश निःशुल्क हुने आयोजकले जानकारी दिएको छ।

ताजा समाचार