टोकियो
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षका लागि सुभास लामिछानेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
शनिबार टोकियोमा आयोजना गरिएको उम्मेदवारी घोषण कार्यक्रममा समर्थक र शुभचिन्तकको बाक्लो उपस्थिती विच लामिछाने संस्थागत विकास, आर्थिक पारदर्शिता, एकीकृत नेपाली घरः बहुसांस्कृतिक केन्द्र निर्माण तथा सञ्चालन गर्ने प्रतिबद्धता सहित आफ्ना यौजनाहरु प्रस्तुत गरेका थिए ।

उम्मेदवारी दिने क्रममा लामिछानेले संघको पुनसंरचना, स्मार्ट एनआरएनए लगायतका विषयमा जोड दिएका छन्।
निःशुल्क जापानिज भाषा र जापानी संघसंस्थाबारे जानकारी गराउने, मनोपरामर्शका कार्यक्रमहरू सञ्चालन गर्ने लगायतका योजना समेत उनले अघि सारेका छन्।
जापान आउने विद्यार्थीहरूका लागि अभिमुखीकरण तालिमका लागि समन्वय गर्ने तथा जापानमा रहेका विद्यार्थीका लागि पर्ने विभिन्न समस्याको समाधानमा पहल गर्ने उनले बताए।
जापानमा वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन नेपाल सरकार, सरोकारवाला निकाय, कूटनीतिक नियोग, राजदूतावास लगायतसँग सहकार्य गरिने छ,’ उनले भनेका छन्, ‘जापानमा रोजगार तथा स्वरोजगारमा रहेकालाई सामाजिक सुरक्षा कोषको योजनामा सहभागी हुन सूचनामूलक कार्यक्रम गरिने छ। साथै विदेशमा बस्ने नेपालीको मताधिकारको अधिकार सुनिश्चितताका लागि आसीसीसँगको समन्वयमा आवश्यक कार्य गरिने छ।’
दुर्घटना तथा विभिन्न आपतकालीन समस्यामा परेका नेपालीहरूलाई सहयोग हुने गरी ‘एनआरएनए आपतकालीन राहत कोष’ को प्रभावकारी कार्यान्वयन गर्ने समेत उनको प्रतिबद्धता छ।
आकस्मिक दुर्घटनामा परी ज्यान गुमाउने नेपालीहरूको पार्थिव शरीर अन्त्येष्टिमा आवश्यक सहयोग गर्ने साथै नेपालमा लैजानको लागि आर्थिक खर्च नेपाल सरकारले ब्यहोर्नुपर्ने नीतिगत व्यवस्था गर्न पहल गर्ने उनले बताएका छन्।
नेपालबाट जापान अध्ययन गर्न जाने विद्यार्थीको लागि अनिवार्य रूपमा बीमा गर्न अभिप्रेरित गर्ने गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने उनको प्रतिबद्धता छ।
