काठमाडौँ — सधैं १३ जुन (जेठ ३०) आसपास भित्रिने मनसुन यो वर्ष एक साताअघि ५ जुन (२२ जेठ) मै भित्रिएको छ । मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी वर्षा हुने आकलन गरेका छन् ।
मनसुनको पूर्वतयारी र प्रतिकार्य योजना बनाउन सरकारलाई सहयोग गर्दै आएको राष्ट्रसंघीय कार्यक्रम (यूएनडीपी) का विपद्विज्ञ डिवेन्द्रराज बाँस्कोटाले यस वर्षको मनसुनी विपद्बाट करिब १७ लाख सर्वसाधारण प्रभावित हुने देखिएकाले प्रतिकार्यस्वरूप गरिने क्रियाकलाप, स्रोतको व्यवस्थापन र जनशक्ति तयार गर्न सुझाएका छन् ।
गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार मंगलबारसम्म विपद्का २ सय १४ वटा घटना भइसकेका छन् । त्यसमा बाढीको १, पहिरोका ४, भारी वर्षाका ३, चट्याङका २४, आगलागीका १२४, वन डढेलोका ४, वन्यजन्तुसम्बन्धी १५, हावाहुरीका ३६ र सर्पदंशका २ वटा छन् । विपद्मा परेर २५ दिनमा ३१ जनाको ज्यान गएको छ भने ५७ जना घाइते भएका छन् । अहिलेसम्म २५९ परिवार प्रभावित भएका छन् भने आंशिक ७९ र पूर्ण रूपमा ३८ घरमा क्षति पुगेको छ । सबै खाले विपद्बाट १६ करोड ८५ लाख ४४ हजार ९ सय ६० रुपैयाँबराबरको क्षति भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार सुरुवाती मनसुन प्रदेश १ मै सीमित छ । तर, स्थानीय प्रभाव र भारतको उत्तर प्रदेश र विहारमा देखिएको न्यूनचापीय प्रणालीका कारण वाग्मती र गण्डकी प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा मुलुकका १८४ वटा वर्षा मापन केन्द्र (स्वचालित ११६ र मानव सञ्चालित ६८) मध्ये ९१ वटा केन्द्रमा वर्षा रेकर्ड भएको छ । सबैभन्दा बढी तनहुँको दमौली केन्द्रमा १२०.५ मिलिमिटर वर्षा भएको छ । मनसुन विस्तारै प्रदेश १ बाट पश्चिमतिर सर्दै छ । मनसुनी वर्षा पूर्वबाट पश्चिमतिर सक्रिय हुन्छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सामान्यता १ सय १२ दिन मनसुनी वर्षा हुन्छ । असोज तेस्रो साता (अक्टोबर पहिलो साता) सम्म मनसुनी प्रभाव जारी रहन्छ । यस अवधिमा औसत १ हजार ४ सय ३० देखि १ हजार ५ सय ३० मिलिमिटर वर्षा हुने गर्छ । यो वर्षको मनसुन अवधिमा मधेस र वाग्मतीको दक्षिणी भेगमा औसत वर्षा भए पनि बाँकी भूभागमा औसतभन्दा बढी वर्षा हुने मौसमविद्हरूको आकलन छ । गत वर्ष मनसुन सुरु हुनासाथ आएको आरीघोप्टे वर्षाले सिन्धुपाल्चोकको मेलम्ची, मनाङको चामे र तालगाउँ, गोरखाको मनास्लु र मुस्ताङ क्षेत्रमा ठूलो क्षति निम्त्याएको थियो ।
खानी तथा भू–गर्भ विभागका भूगर्भविद् शिव बाँस्कोटा गत वर्ष ठूलो क्षति पुगेको सिन्धुपाल्चोकको हेलम्बु क्षेत्र र तल्लो तटीय क्षेत्रमा अहिले पनि बाढी, पहिरोको जोखिम उत्तिकै रहेको बताउँछन् । ‘यो पटक पनि त्यो क्षेत्रमा छोटो समयभित्र धेरै वर्षा भयो भने तल्लो तटीय क्षेत्र (मेलम्चीसम्मै) मा असर निम्त्याउने सम्भावना उत्तिकै छ,’ भूगर्भीय अध्ययनका लागि गोरखा, बारपाकमा रहेका बाँस्कोटाले कान्तिपुरसँग भने, ‘जोखिम घटाउने कुनै पनि काम भएको छैन, बस्ती पनि जोखिममै छन् ।’
गत वर्ष बाढीको स्रोत मानिएको सिन्धुपाल्चोकको भेमाथाङ क्षेत्रको भौगर्भिक अवस्थाबारे बाँस्कोटासहितको टोलीले अध्ययन गरेको थियो । विशेषज्ञहरूको उक्त अध्ययनले मेलम्ची क्षेत्रमा फेरि पनि बाढी आउन सक्ने आकलन गर्दै तल्लो तटीय क्षेत्रका खोला–नदी आसपासका बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुझाएको थियो । भूगोलविद् प्रा.डा. नरेन्द्रराज खनालले भू–क्षय भएको र भूकम्पले कमजोर बनाएको क्षेत्रमा बढी वर्षा भएमा पहिरोको जोखिम रहेको बताए । ‘पहिलेको पहिरोले बगाएर ल्याएको डेब्रिज (ढुंगा, माटो, बालुवा, रूख–बिरुवा) थुप्रिएको क्षेत्रमा भारी वर्षा भयो भने त्यो बग्छ र तल्लो तटीय क्षेत्रमा भेलबाढी आउन सक्छ,’ खनालले भने, ‘त्यसैले खोला, नदी र तटीय क्षेत्रमा रहेका बस्ती (सहर) जहिल्यै जोखिममा हुन्छन् ।’
गत वर्षको मनसुनमा पनि औसतभन्दा बढी वर्षा भएको थियो । यो पटक पनि सानो क्षेत्रमा केन्द्रित भएर वर्षा हुँदा त्यसले निम्त्याउने असरसमेत बढी हुने वरिष्ठ मौसमविद् वरुण पौडेलको विश्लेषण छ । ‘भूकम्पले हल्लाएको, जमिन चिरा परेको क्षेत्र र डेब्रिजमा वर्षा केन्द्रित भयो भने जोखिम हुन्छ,’ उनले भने, ‘केही वर्षयता वर्षाको चरित्र बदलिएको छ ।’ उनका अनुसार १० दिनमा वा महिना दिनमा पर्ने वर्षा एकै दिनमा भयो भने पहिरो–बाढीजन्य विपद्को सम्भावना उच्च हुन्छ ।
गत वर्ष मनसुन प्रवेश भएको चौथो दिन जेठ ३१ मा मनाङको हुम्डे विमानस्थल क्षेत्रमा ठूलो वर्षा भएको थियो । ३ हजार ३ सय ८८ मिटर उचाइको हुम्डे विमानस्थलस्थित मौसम मापन केन्द्रले उक्त दिन २९.६ मिलिमिटर वर्षा रेकर्ड गरेको थियो । त्यहाँ असार १ मा ४०.९ र असार २ मा ५०.२ मिमि वर्षा भयो । यो परिमाणको वर्षा हिमाली क्षेत्रका लागि अनपेक्षित थियो । हिउँद र अन्य मौसममा पनि धेरै समय हिउँले ढाक्ने त्यो क्षेत्रमा मनसुन अवधिमा विरलै वर्षा हुन्थ्यो ।
लगातारको वर्षापछि मर्स्याङ्दी नदीमा ठूलो बाढी आएको थियो । त्यसले सदरमुकाम चामेसहित तल्लो तटीय क्षेत्रको तालगाउँसम्मै डुबायो । मानवीय क्षति थोरै भए पनि त्यहाँका पुल, जलविद्युत् आयोजना, विद्यालय र घरलगायतका धेरै संरचनामा क्षति पुग्यो । गत वर्ष ठूलो विपद् निम्तिएको मेलम्ची क्षेत्रभन्दा माथिल्लो भागमा पनि मनसुन सुरु भएको भोलिपल्टै जेठ २९ मा ठूलो वर्षा भएको थियो । एकै पटक धेरै वर्षा हुने भएकाले विज्ञहरूले त्यस्तोलाई आरीघोप्टे वर्षा भन्ने गरेका छन् । जेठ २९ मा सिन्धुपाल्चोकको सेर्माथान क्षेत्रमा २४ घण्टा अवधिमा ११०.२ मिमि वर्षा भएको थियो । त्यही दिन गुम्थाङ क्षेत्रमा ५० मिमि वर्षा भयो । धाप क्षेत्रमा असार ९ मा १०५ मिमि वर्षा भएको थियो । त्यहीं असार १७ मा ९०.६ मिमि वर्षा भएको रेकर्ड छ ।
मौसमी प्रारूप (क्लाइमेट मोडल्स) मा विद्यावारिधि गरेकी जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार हिमाली क्षेत्रका लागि त्यो ठूलो वर्षा हो । मनसुनअघिकै वर्षाले मनाङ र मुस्ताङमा जस्तै त्यहाँको माटो पनि कमजोर बनाइसकेको थियो । पछि थपिएको वर्षाले बाढीपहिरो निम्त्यायो । असार १ मा मेलम्ची बजारसम्मै ठूलो मात्रामा धनजनको क्षति भयो ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेल छोटो समयमा धेरै वर्षा भएमा त्यसले बाढी र पहिरो निम्त्याउने सम्भावना रहेको बताउँछन् । ‘मौसम पूर्वानुमानको सूचना स्थानीय जनता, गाउँपालिका/नगरपालिका र वडासम्मै पुर्याउने हो भने धेरै हदसम्म असर घटाउन सकिन्छ,’ पोखरेलले भने, ‘विपद् प्रतिकार्य टोलीले पनि पूर्वतयारी राम्रोसँग गरी स्थानीय निकायसँग समन्वय गर्न सके जोखिम र क्षति कम गर्न मद्दत पुग्छ ।’
प्राधिकरणको प्रतिवेदनअनुसार सीमावर्ती क्षेत्रमा भारत सरकारले बनाएको तटबन्ध, बाँध, अग्ला सडक, रेलमार्ग, ब्यारेज र नहर प्रणालीलगायत संरचनाले पनि तराईका बस्ती र खेतबारी यो पटक पनि डुबानको जोखिममा छन् । ‘त्यस्ता संरचनाले सीमावर्ती गाउँबस्तीमा बाढी, डुबान, कटान, पटानको जोखिम उच्च बनाएको छ,’ प्रतिवेदनमा भनेको छ, ‘तराई तथा भित्री मधेस क्षेत्र बाढीका कारण संवेदनशील हुन् ।’