साभार-सेतोपाटी
विश्वप्रसिद्ध नेपाली आरोही निम्स दाइ (निर्मल पुर्जा) दुई दिनदेखि पाकिस्तानको ब्रोड पिक हिमालमा सम्पर्कविहीन छन्।
बिहीबार बिहान ब्रोड पिकको ६ हजार ७०० मिटर उचाइमा पुगेपछि उनी आफ्नो टोलीमा रहेको १० जना आरोहीसँगै हिमपहिरोमा परेका थिए।
शुक्रबार दिउँसोसम्म चार जना मृत भेटिएका छन्। त्यसमध्ये एक जना नेपाली छन्। उनी गोरखाका पुरबहादुर गुरूङ हुन्।
रास्वपा सांसद समेत रहेका निम्सका साथी मिङ्मा डेबिड शेर्पाले शुक्रबार बिहानसम्म स्याटलाइट डेटामा अझै पनि निर्मल पुर्जाको मुभमेन्ट देखिएको बताएका छन्। यसले निम्सदाइ अझै सुरक्षित रहने आशा जगाएको छ।
मौसम पनि केही अनुकूल बनेका कारण खोजी कार्य तुलनात्मक रूपमा सहज भइरहेको उनले बताएका छन्। साथीको खोजीमा सहयोग गर्न उनी आफै पनि हिमाली क्षेत्रको अनुभव भएका पाइलट सहित पाकिस्तान जाँदैछन्।
निम्स दाइ सम्पर्कविहीन भएको हिमाल बाहिरी सतहबाट सजिलो देखिए पनि कम खतरनाक छैन भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखिरहेका छन्।
निम्सदाइ आफैले पनि हिमाल चढ्नुअघि त्यसबारे उल्लेख गरेका छन्। उनका अनुसार सुरूमा ग्यासरब्रुम-२ हिमाल चढ्ने योजना थियो।
‘…तर पाकिस्तान निस्कनुअघि मैले आफ्ना ८ हजार मिटर अग्ला हिमालहरूको हिसाब-किताब हेरेँ। अनि सोचेँ—यदि मैले यही मौकामा ब्रोड पिक पनि चढेँ भने त मेरो बाँकी ‘चो ओयु’ मात्रै रहन्छ,’ निम्सदाइले फेसबुकमा लेखेका छन्।
निम्स दाइले पर्वतारोहणमा असम्भव मानिएका रेकर्डहरू बनाएका छन्। यसपटक ब्रोड पिकपछि चोयू हिमाल चढेर अक्सिजन बिनै संसारका सबै ८ हजार मिटर माथिका हिमाल दोहोर्याएर चढ्ने रेकर्ड बनाउने तयारीमा थिए।
निम्स दाइ आरोहणमा लाग्नु अघि बेलायी सैनिकमा थिए।
उनले ६ वर्ष बेलायती सेनाको गोर्खा रेजिमेन्टमा सेवा गरे। त्यसपछि १० वर्ष बेलायतको विशेष नौसैनिक फौज ‘स्पेसल बोट सर्भिस (एसबीएस)’मा रहे। सन् २००९ मा उनी एसबीएसमा छनोट हुने पहिलो गोर्खा सैनिक बनेका थिए।
निर्मल पुर्जाको नाम निम्स दाइ त्यतिबेलै रहन गएको हो। बेलायती सेनामा रहँदा उनका सहकर्मीहरूले निर्मल भन्न गाह्रो लागेर ‘निम्स’ भन्ने गर्थे। आरोहण क्षेत्रमा लागेपछि त्यसलाई उनले आफ्नो पहिचान बनाए।
पर्वतारोहणमा सन् २०१२ पछि आकर्षित भएका थिए निम्स दाइ । त्यतिबेला उनी सगरमाथि आधार शिविरसम्म पुगेका थिए। त्यही वर्ष उनले पहिलो पटक ६ हजार ११९ मिटर अग्लो लोबुचे इस्ट हिमाल आरोहण गरे।
त्यसपछि सुरु भएको हिमाल आरोहण यात्रा केही वर्षमै विश्व कीर्तिमानतर्फ पुगेको हो।
सन् २०१६ मा पहिलो पटक सगरमाथा आरोहण गरेका उनले फर्किने क्रममा ‘डेथ जोन’मा समस्यामा परेका एक आरोहीको उद्धार गरेर अन्तर्राष्ट्रिय चर्चा बटुले।
यही साहसिक उद्धार र उच्च हिमाली पर्वतारोहणमा पुर्याएको योगदानका लागि बेलायतकी महारानी एलिजाबेथ द्वितीयले उनलाई सन् २०१८ मा एमबिई (member of the order of the British Empire) सम्मान प्रदान गरेकी थिइन्।
सन् २०१९ मा निम्स दाइले विश्व पर्वतारोहणकै सबैभन्दा कठिन मानिने उपलब्धिमध्ये एक हासिल गरे।
उनले ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गर्दै नयाँ विश्व कीर्तिमान बनाए।
यसअघि दक्षिण कोरियाका पर्वतारोही किम चाङ–होको नाममा रहेको झन्डै आठ वर्षको कीर्तिमान उनले तोडेका थिए। उनले यो अभियानलाई ‘प्रोजेक्ट पसिबल’ नाम दिएका थिए, किनभने धेरैले यो लक्ष्य सम्भव नै नभएको बताएका थिए।
सन् २०२१ को १६ जनवरीमा उनले मिङ्मा डेभिड शेर्पासहित पूर्ण नेपाली टोलीको नेतृत्व गर्दै विश्वको दोस्रो अग्लो हिमाल केटुको पहिलोपटक जाडो महिनामा आरोहण गरेर अर्को इतिहास रचे।
दशकौंदेखि विश्वभरका आरोहीले प्रयास गरे पनि कसैले सफल हुन नसकेको केटु हिउँदमा पहिलो पटक नेपाली टोलीले नै आरोहण गरेको थियो। चुचुरो पुग्नुअघि टोलीले नेपाली राष्ट्रिय गान गाएको दृश्य विश्वभर चर्चित बनेको थियो।
उच्च हिमाली पर्वतारोहणमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सन् २०२० मा एसियाली अल्पाइन संघले पियोले डे’ओर सम्मान पनि प्रदान गरेको थियो।
म्याग्दीमा जन्मिएर चितवनमा हुर्किएका निम्सदाइ आज नेपाली पर्वतारोहणका मात्र होइन। विश्व पर्वतारोहणकै सबैभन्दा प्रभावशाली आरोहीमध्ये गनिन्छन्।
उनको संघर्ष र सफलतामा आधारित भएर नेटफ्लिक्सले ‘१४ पिक’ सिरिज समेत बनाएको छ।