माले (माल्दिभ्स)
नेपाली फुटबलका लागि आज शनिबार विशेष रहनेछ, किनभने नेपाल भारतविरुद्ध साफ च्याम्पियनसिप २०२१ को ऐतिहासिक फाइनलमा भिड्दैछ । नेपाल साफ च्याम्पियनसिपको इतिहासमै फाइनल पुगेको यो पहिलो पल्ट हो ।
नेपालले माल्दिभ्सको नेसनल स्टेडियममा हुने खेलमा भारतलाई हराउँछ भने त्यो आफ्नो फुटबल इतिहासकै सबैभन्दा ठूलो सफलता सावित हुनेछ ।
माल्दिभ्सको स्थानीय समय अनुसार राति आठ बजे (नेपाली समय अनुसार राति ८:४५) मा खेल सुरु हुनेछ । सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालको प्रदर्शन कहिले पनि सेमिफाइनल भन्दा माथि हुन सकेको छैन् । अधिकांस समय यो प्रतियोगितामा नेपाल समूह चरणमै सीमित हुने गरेको छ ।
यसपल्ट भने नेपालले त्यो परम्परालाई ताडेर पहिलो पल्ट उपाधिको भिडन्तमा ओर्लिन लागेको छ । भारतका लागि भने आजको खेल लगातार आठौं फाइनल हुनेछ । समग्रमा कीर्तिमान सात पल्टको विजेता भारतले फाइनल खेल्न लागेको यो १२ औं पल्ट हुनेछ । अहिलेसम्मका प्रतियोगिताका १३ संस्करणमध्ये सन् २००३ मा एकै पल्ट मात्र फाइनल पुग्न सकेको थिएन् ।
अल्मुताइरी ‘डगआउट’ मा नहुने
यसपल्टको फाइनलको एउटा सबैभन्दा ठूलो विशेषता हुनेछ, दुवै टिमका प्रशिक्षक ‘डगआउट’ मा हुने छैनन् । त्यसो भनेको नेपालका अब्दुल्लाह अल्मुताइरी र भारतका इगोर स्टिमेक दुवैले टेक्निकल एरियामा रहेर आफ्ना खेलाडीलाई निर्देशन दिन पाउने छैनन, एक प्रकारले दुवै दर्शक हुनेछन् ।
दुई पहेँलो कार्डका कारण अल्मुताइरी नेपालका लागि आफ्नो अन्तिम खेलमा यो अवसरबाट वञ्चित भएका हुन् । बंगलादेशविरुद्धको खेल पछि उनले फाइनल नेपालका लागि आफ्नो अन्तिम खेल हुने बताएका थिए । त्यसको एकदिनपछि उनलाई ‘डगआउट’ मा बस्न नपाउने पत्र दिइएको थियो ।
भारतीय प्रशिक्षक स्टिमेकले माल्दिभ्सविरुद्धको खेलमा सिधै रातो कार्ड पाएका थिए, त्यसैले उनी पनि ‘डगआउट’ मा हुने छैनन् । नेपालका लागि प्रतियोगितामा अहिलेसम्म सबैभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडीमध्ये एक रहेका अञ्जन विष्टले पनि फाइनल गुमाउने छन् । उनी पनि दुई पहेँलो कार्डको मारमा परेका हुन् ।
नेपाल आठौं फाइनलमा
नेपाली राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय फुटबलमा खेल्न लागेको यो आठौं फाइनल हुनेछ । यसअघिका सात फाइनलमध्ये नेपाल पाँच पल्ट विजयी रहेको छ र यसमध्ये दुई फाइनल भारतविरुद्ध रहेको छ । यस्तोमा यसपल्टको फाइनल नेपाल र भारतबीचको तेस्रो उपाधि भिडन्त हुनेछ । नेपालले सन् १९८४, १९८७ , १९९३ र १९९९ को दक्षिण एसियाली खेलकुदको फुटबल फाइनल खेलेको थियो ।
त्यसमध्ये दुई टिम संलग्न भिडन्तमा सन् १९८७ मा भारत विजयी रह्यो भने सन् १९९३ मा नेपाल । त्यसयता नेपालले सन् २०१६ को बंगबन्धु गोल्डकप, सन् २०१६ को एएफसी सोलिडारिटीकप र सन् २०२१ को थ्री नेसन्स कप फाइनल खेलेको थियो र यी तीनैमा नेपाल विजयी रहेको छ । बंगबन्धु गोल्डकपको फाइनल भने बहराइनको यू २३ टिमविरुद्ध थियो ।