काठमाडौं । मनसुनको शुरुवातमै देशका विभिन्न स्थानमा बाढी पहिरोबाट अकल्पनीय घटना हुन थालेका छन् । सिन्धुपाल्चोक, मनाङ, जाजरकोटलगायत १७ जिल्ला गत जेठ २८ पछि आएको बाढी पहिरोले प्रभावित हुन पुगेको छ ।
विज्ञका अनुसार यसपालि अप्रत्याशित रुपमा लेदो र गेगरसहितको बाढी आएको थियो । यसले बढी क्षति पुर्याउन मद्दत ग¥यो । मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रमा वर्षा हुने र केही ठाउँमा अति भारी हुने अनुमान सार्वजनिक गरेको थियो । पूर्व सूचनाका बीच पनि शुरुवाती चरणमै मनसुनजन्य घटनाबाट हुने असर न्यूनीकरण हुन सकेन । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा नसोचेको बाढी आउँदा बजार नै तहसनहस हुन पुगेको छ ।
गत जेठ २८ गते मनसुन प्रवेश गरी ३० गते देशै भरी फैलिएसँगै आएको भारी वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा सात जनाको मृत्यु भएको छ । अन्य २५ जना हराइरहेका छन् । गत वर्ष भेल पहिरोका कारण ठुलो जनधनको क्षति बेहोरेको सिन्धुपाल्चोकले यसपालि पनि मनसुनको शुरुवाती समयमै त्यसै गरी प्रभावित हुन पुगेको छ ।
प्राप्त विवरण अनुसार सिन्धुपाल्चोकमा आजसम्म तीन जनाको मृत्यु भएको छ भने बाजुरा, पाल्पा, डोटी र कास्कीमा एक÷एक जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । सिन्धुपाल्चोकमा मृत्यु भएकामा दुई जना चिनिया नागरिक छन् । एक जनाको शव सिन्धुलीमा भेटिएको जनाइएको छ ।
सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले अहिलेसम्म सिन्धुपाल्चोक १४ जना सम्पर्क विहीन रहेको जानकारी दिनुभयो । हराएका १८ मध्य चार जना सम्पर्कमा आइसकेका छन् । जाजरकोटमा विकट क्षेत्रमा ७ जना हराइरहेका छन् । बाजुरा, प्युठान, अर्घाखाँची र काभ्रेमा एक/एक जना बेपत्ता छन् ।
सिन्धुपाल्चोकमा यसपालि पनि अप्रत्याशित रुपमा बाढी आएको हो । हेलम्बु गाउँपालिका वडा नं १ नाकुत्तेभन्दा ५०० मिटर माथिबाट पहिरो खसेर मेलम्ची नदी थुनिएको र त्यही फुटेपछि ठुलो दुर्घटना हुन पुगेको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ । त्यसले हेलम्बु र मेलम्चीको नदी आसपास क्षेत्रमा ठुलो असर पुर्याएको छ । सिन्धुपाल्चोकलगायत प्रभावित जिल्लामा उद्धार र राहत वितरण जारी रहेको जनाइएको छ । अहिलेसम्म सिन्धुपाल्चोकका जोखिम क्षेत्रबाट ७४ जनाको उद्धार गरेर सुरक्षित ठाउँमा राखिएको जनाइएको छ ।
मेलम्ची नगरपालिकामा ६०० जना, हेलम्बु गाउँपालिकामा ३०० बढी प्रभावित भएको जानकारी आएको सहायक प्रमुख जिल्ला अधिकारी खनालले बताउनुभयो । उहाँका अनुसार अन्य विवरण सङ्कलन जारी रहेको जनाइएको छ । भौतिक क्षेत्रको विषयमा आजदेखि विवरण सङ्कलन थालिएको छ ।
जाजरकोटमा भएको घटना भने गत जेठ ३१ गते भएको थियो । जिल्ला सदरमुकामबाट निक्कै टाढा तथा चार हजार ८०० मिटरको उचाइमा घटना हुन पुगेकाले विवरण ढिला आएको हो । जिल्लामा सात जना हराइरहेका छन् । घटनास्थलमा प्रहरी टोली पठाइएको तर विस्तृत विवरण आइसकेको छैन । कुसे गाउँपालिका ८ जलजला पाटनमा अविरल वर्षा र हावाहुरीले गर्दा सात जना हराइरहेका जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार पाटनमा गाईबस्तु लिन गएका ११ जना मध्य अन्य चार जना भने सम्पर्कमा आएका छन् । विभिन्न जिल्लामा गरेर १२ जना घाइते भएको र उनीहरूको उपचार जारी रहेको छ । सरकारले उनीहरूको उपचार निःशुल्क गर्ने घोषणा गरिसकेको छ ।
बाढी पहिरोले १२९ घर बगायो
मनसुनपछि मुलुकका विभिन्न क्षेत्रमा वर्षापछि आएको बाढी पहिरोका कारण अहिलेसम्म १२९ घर पूर्ण क्षति भएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाजुरामा दुई, गोरखामा चार, मनाङमा ५९, सिन्धुपाल्चोकमा १६, लमजुङमा १८, अर्घाखाँचीमा १२, र कास्कीमा १८ घर पूर्ण क्षति भएको छ । अझै क्षतिको विवरण थपिने क्रममा रहेको छ । यस्तै विभिन्न जिल्लामा ११४ घर आंशिक क्षति भएको जनाइएको छ ।
उद्धार र राहत वितरण जारी
मनाङको चामे र तालगाउँ क्षेत्रका ५०० बढी प्रभावितहरूलाई यहाँको सिरन ताललगायत अस्थायी आश्रय स्थलमा लगेर राखिएको छ ।
यस्तै सिन्धुपाल्चोकको जोखिम क्षेत्रबाट ८० जनालाई उद्धार गरिएको छ । त्यहाँ उद्धारमा नेपाली सेनाको हेलिकप्टर समेत प्रयोग गरिएको थियो । घाइते भएका ६ जनालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट ललितपुरस्थित विएण्डवी अस्पतालमा ल्याइएको छ ।
सो क्षेत्रमा २५० त्रिपाल, १०० टेन्ट, ५० स्लिपिङ ब्यागलगायत सामान काठमाडौँबाट पठाइएको छ भने जिल्लास्थित विपद् व्यवस्थापन समितिबाट अन्य व्यवस्थापन कार्य जारी रहेको छ । दाङस्थित राप्ती नदीको टापुमा भैँसी चराउन गएका बेला फसेका चार जनालाई सकुशल उद्धार गरिएको छ । यस्तै कास्कीको मादी गाउँपालिका १ स्थित विस्थापित १८ परिवारलाई दुधपोखरी माविमा ल्याएर राखिएको आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । रासस