लक्ष्मी राजवंशीको हत्या प्रकरणमा सनसनीपूर्ण मोड, लक्ष्मीका तीन नेपाली साथी पक्राउ

टोकियो

नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको शव नदीमा भेटिएको २० दिनपछि फुकुओका प्रहरीले हत्या अनुसन्धानमा ठूलो प्रगति गरेको छ। प्रहरीले राजवंशीको हत्यामा संलग्न रहेको आशङ्कामा दुई महिला र एक पुरुषसहित तीन नेपाली नागरिकलाई पक्राउ गरेको छ। घटनास्थल र उनको बसोबास गर्ने अपार्टमेन्टमा भेटिएका संघर्षका संकेत तथा रगतका दागसहितका प्रमाणलाई आधार बनाएर अनुसन्धान अघि बढाइरहेको प्रहरीले पक्राउपछि जनाएको छ।

राजवंशीको शव अगस्ट १९ को बिहान तेन्जिन क्षेत्र हुँदै बग्ने नाका नदीमा फेला परेको थियो। शरीरमा कडा वस्तुले प्रहार गरेको हुन सक्ने चोट र हातमा प्रतिरोधका क्रममा लागेको हुन सक्ने घाउ भेटिएपछि प्रहरीले घटनालाई हत्या भएको आशङ्का गर्दै विशेष अनुसन्धान टोली गठन गरेको थियो।

मंगलबार बिहान करिब ६ः३० बजे हाकाता वडास्थित एक अपार्टमेन्टमा पुगेको प्रहरी टोलीले तीन जनालाई सुरुमा सोधपुछका लागि साथमा लगेको थियो। उनीहरूले प्रतिरोध नगरेको र पछि अनुसन्धानबाट हत्या घटनामा संलग्नताको आशङ्का बलियो भएपछि औपचारिक रूपमा पक्राउ गरिएको जापानी सञ्चारमाध्यमले जनाएका छन्।

ताजा समाचार