रोनाल्डो–जोर्जिनाको विवाहको तयारी,आधिकारिक पुष्टि अझै बाँकी

विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो र उनकी दीर्घकालीन जीवनसाथी जोर्जिना रोड्रिगेज विवाह बन्धनमा बाँधिने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। बेलायती पत्रिका द सन लगायतका केही सञ्चारमाध्यमका अनुसार आगामी शनिबार पोर्चुगलको मडेइरा टापुस्थित फन्चाल क्याथेड्रलमा उनीहरूको विवाह सम्पन्न हुने तयारी गरिएको छ।

रिपोर्टअनुसार विवाह समारोहपछि फन्चालस्थित पाँचतारे साभोय प्यालेस होटलमा भव्य स्वागत समारोह आयोजना गर्ने तयारी गरिएको छ। होटलका केही तल्ला र बार क्षेत्र उक्त कार्यक्रमका लागि आरक्षित गरिएको दाबीसमेत गरिएको छ।

पोर्चुगलको मडेइरामा जन्मिएका ४१ वर्षीय रोनाल्डो र अर्जेन्टिनामा जन्मिई स्पेनमा हुर्किएकी ३२ वर्षीया मोडल तथा सामाजिक सञ्जाल प्रभावकर्ता जोर्जिना सन् २०१६ देखि सम्बन्धमा छन्। उनीहरूले पाँच सन्तानको संयुक्त रूपमा पालनपोषण गर्दै आएका छन् भने गत वर्ष इन्गेजमेन्ट भएको सार्वजनिक गरेका थिए।

यद्यपि, विवाहको मिति, स्थान वा कार्यक्रमबारे रोनाल्डो वा जोर्जिनाले हालसम्म कुनै आधिकारिक घोषणा गरेका छैनन्। आधिकारिक पुष्टि वा घोषणा भएपछि मात्र कार्यक्रमको वास्तविक स्वरूप स्पष्ट हुने अपेक्षा गरिएको छ।

ताजा समाचार