चिबामा भीषण वर्षाको बितण्डा : नेपाली समुदाय भने सुरक्षित

उदय सुबेदी

चिबा । जापानको चिबा प्रिफेक्चरमा बिहीबारदेखि परेको अविरल तथा रेकर्डतोड वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ। भीषण वर्षाका कारण विभिन्न स्थानमा सडक तथा घर डुबानमा परेका छन् भने सवारीसाधनमा मानिसहरू फस्ने, विद्युत् आपूर्ति अवरुद्ध हुने र यातायात सेवा प्रभावित हुने अवस्था सिर्जना भएको छ।

चिबा प्रिफेक्चरका अनुसार पछिल्लो विवरणमा वर्षासँग सम्बन्धित घटनामा ४ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन्। त्यस्तै, काशीवा सहरमा बाढीले डुबेको सडकमा कारभित्र फसेकी ७० वर्ष एक महिला हृदयघात/हृदयगति बन्द भएको अवस्थामा फेला परेकी छन्। चार जना सामान्य घाइते भएको फुजी टेलिभिजनले बताइएको छ।

Screenshot

वर्षाका कारण चिबाका विभिन्न क्षेत्रमा घर तथा सडकमा पानी पसेको छ। पछिल्लो विवरणअनुसार कम्तीमा ४५ घरमा भुइँतलाभन्दा माथिसम्म पानी पसेको र ३९ घरमा भुइँतलासम्म पानी पसेको छ भने एउटा घर आंशिक रूपमा क्षतिग्रस्त भएको छ।

अत्यधिक वर्षापछि चिबाका केही क्षेत्रमा जारी गरिएको लेभल–५ को अत्यधिक भारी वर्षा तथा पहिरोसम्बन्धी विशेष चेतावनीलाई लेभल–४ मा झारिएको भए पनि जोखिम पूर्ण रूपमा टरेको छैन। चिबा प्रिफेक्चरले बाढी, डुबान, नदीमा पानीको सतह बढ्ने तथा पहिरोको जोखिमप्रति अझै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

यातायातमा समेत ठूलो असर परेको छ। चिबाका विभिन्न एक्सप्रेसवेमा शुक्रबार बिहानसम्म पनि केही खण्डमा आवागमन बन्द रहेको छ।

करिब २२ हजार नेपाली सुरक्षित

यसैबीच, चिबामा बसोबास गर्ने नेपाली समुदायको अवस्थाबारे एनआरएनए चिबा क्षेत्रीय समितिका संयोजक राजनबाबु सुवेदीले निष्पक्ष न्यूजलाई जानकारी दिँदै हालसम्म कुनै नेपाली नागरिकलाई ठूलो समस्या परेको जानकारी नआएको बताउनुभएको छ।

सुवेदीका अनुसार चिबा क्षेत्रमा करिब २२ हजार नेपाली बसोबास गर्दै आएका छन्। हालसम्म नेपाली समुदायका सदस्यहरू सुरक्षित रहेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो।

तर, चिबामा वर्षाको जोखिम पूर्ण रूपमा नटरेको भन्दै उहाँले नेपाली समुदायलाई थप सतर्क रहन आग्रह गर्नुभएको छ। विशेषगरी डुबान सम्भावित क्षेत्र, नदी तथा खोलानजिक र पहिरोको जोखिम भएका स्थानमा रहेका नेपालीहरूलाई स्थानीय प्रशासनको सूचना पालना गर्न र आवश्यक परे सुरक्षित स्थानमा जान उहाँले अनुरोध गर्नुभएको छ।

“हालसम्म चिबामा रहेका नेपालीहरू सुरक्षित छन्। तर खतरा पूर्ण रूपमा टरेको छैन, त्यसैले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सचेत र सुरक्षित रहनुहोस्,” संयोजक सुवेदीले आग्रह गर्नुभएको छ।

Screenshot

ताजा समाचार