म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्केको हुँ- शेरबहादुर देउवा

स्वास्थ्य उपचारका सिलसिलामा सिंगापुर र हङकङमा ५ महिना रहेका नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्केका छन्।

देउवालाई विमानस्थलमा नेता तथा कार्यकर्ताहरूले बाजागाजासहित स्वागत गरेका थिए। 

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेको केही समयपछि देउवाले अपिल जारी गरेका छन्।

उनले शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न आफू स्वदेश फर्केको उल्लेख गरेका हुन्।

‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ,’ देउवाको भनाइ छ, ‘०३३ सालमा बिपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको थियो। मलाई लाग्छ फेरि ४७ वर्षपछि हाम्रो राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको छ।’

उनले प्रतिशोधभन्दा पनि मेलमिलापको मार्ग रोज्न आह्वान गरेका छन्। 

‘म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु, विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर छु,’ उनले भनेका छन्।

साथै देउवाले कांग्रेसभित्र देखिएको अहसमति र निराशा तुरून्त समाधान हुनुपर्ने बताएका छन्।

‘नेपाली कांग्रेस आफू एकताबद्ध भएर देशका क्रियाशील अन्य सबै राजनीतिक दलहरूसँग समेत सहमति र सहकार्य गरेर जानुपर्ने आजको आवश्यकता हो, सबै मिलेर देशको राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरण गर्नुपर्छ,’ उनले भने, ‘संसदमा कांग्रेस अंकगणितीय रूपमा सानो-ठूलो भयो होला, तर २००७ सालदेखि राजनीतिक परिवर्तनको हरेक खुट्किलोको नेतृत्वकर्ता हो- कांग्रेस।’

देउवाले मुलुकको मियो दल कांग्रेसमा विवाद हुँदा राष्ट्रियता कमजोर हुन सक्ने पनि बताए। उनले सबैको त्याग, बलिदान र संघर्षलाई स्वीकार गरेर अघि बढ्न पनि अपिल गरेका छन्।

‘नेपाली कांग्रेस कसैको इगोमा होइन, जनताको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ,’ देउवाले भने, ‘मैले राजनीतिक रूपमा लिनुपर्ने केही छैन। युवा साथीहरू अघि बढ्नुपर्छ तर पाका र अनुभवीजति खराब हुन् भन्ने गलत भास्य बनाउन हुन्न। पार्टीभित्रका साथीहरूको भावनालाई पुन: एकपटक जोड्नुपर्ने समय आएको छ। त्यस कार्यमा लाग्न म सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपिल गर्न चाहन्छु।’

यस्तो छ अपिल-

ताजा समाचार