जापानको कोमागाने सहरमा नेपाली शैलीको चौतारो निर्माण गरिने

उदय सुबेदी

टोकियो । नेपाली संस्कृति र परम्परामा पुण्य कर्मका रूपमा स्थापित चौतारो निर्माणको अवधारणालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यसहित जापानको कोमागाने सहरमा नेपाली शैलीको चौतारो निर्माण गर्ने तयारी अघि बढाइएको छ।

पोखरा महानगरपालिकासँग भगिनी सम्बन्ध रहेको कोमागाने सहरमा चौतारो निर्माणका लागि सम्भावित स्थानको स्थलगत अध्ययन सम्पन्न गरिएको छ। कास्की पोखरा समाज जापानको अगुवाइमा सम्पन्न अध्ययन भ्रमणमा समाजका संरक्षक एवं एनआरएन आसीसीका वरिष्ट उपाध्यक्ष रोविन शेरचन, सल्लाहकार मोहन पौडेल, सुरेश लामिछाने तथा समाजका अध्यक्ष कमल बाँस्तोला सहभागी भएका थिए।

भ्रमणका क्रममा पाँच वटा सम्भावित स्थानको अवलोकन गरिएको थियो। तीमध्ये चौतारो निर्माणका लागि पहिलो र दोस्रो प्राथमिकताका स्थान छनोट गरिएको जनाइएको छ। छनोट गरिएका स्थानको आवश्यक प्रक्रिया पूरा भएपछि निर्माण कार्य अगाडि बढाइने समाजले जनाएको छ।

समाजका अनुसार उक्त परियोजना कास्की पोखरा समाज जापानको नेतृत्व तथा संरक्षक रोबिन शेरचनको संयोजनमा कार्यान्वयन गरिनेछ। परियोजनामार्फत नेपाली सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन तथा नेपाल–जापानबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

कास्की पोखरा समाज जापानले चौतारो निर्माण अभियानलाई सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक सहयोगका लागि जापानमा रहेका कास्केली समुदायसहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सहयोगका लागि आह्वान गरेको छ।

समाजका अनुसार चौतारो निर्माणले नेपाली मौलिक संस्कृति, परोपकार र सामाजिक सद्भावको सन्देश अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नुका साथै पोखरा र कोमागाने सहरबीचको भगिनी सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

ताजा समाचार