कमजोर बनेको येनलाई उकास्न अमेरिका–जापानको संयुक्त मुद्रा हस्तक्षेप, डलर १५६ येन

टोकियो । जापानी येन लगातार कमजोर बन्दै गएपछि जापान र अमेरिकाले विदेशी मुद्रा बजारमा संयुक्त रूपमा हस्तक्षेप गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानको अनुरोधपछि अमेरिकाले येनलाई समर्थन गर्न मुद्रा बजारमा हस्तक्षेप गरेको पुष्टि गर्दै यसलाई दुई देशबीचको मित्रताको संकेतका रूपमा व्याख्या गरेका छन्।

जापानको अर्थ मन्त्रालयले पनि अमेरिकी अर्थ मन्त्रालयसँग समन्वय गरी जापानी येन खरिद गरिएको पुष्टि गरेको छ। जापानकी अर्थमन्त्री सात्सुकी कातायामाले बजारमा देखिएको अत्यधिक उतारचढाव नियन्त्रण गर्न र येनमाथिको दबाब कम गर्न उक्त कदम चालिएको जानकारी दिएकी छन्।

पछिल्ला महिनाहरूमा अमेरिकी डलरको तुलनामा जापानी येन तीव्र रूपमा कमजोर बन्दै गएको थियो। डलर एक समय १६३ येनभन्दा माथि पुगेपछि येन करिब चार दशकयताकै कमजोर स्तरमा पुगेको थियो। त्यसपछि गरिएको हस्तक्षेपपछि डलरको मूल्य घटेर करिब १५५–१५६ येनको आसपास पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

राष्ट्रपति ट्रम्पले जापानलाई सहयोग गर्न गरिएको मुद्रा हस्तक्षेपले दुवै देशलाई आर्थिक रूपमा फाइदा पुग्ने दाबी गरेका छन्। उनले विश्व अर्थतन्त्रमा स्थिरता कायम गर्न पनि यस्तो सहकार्य महत्वपूर्ण रहेको बताएका छन्।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि आवश्यक परेको अवस्थामा भविष्यमा थप समन्वयात्मक कदम चाल्न अमेरिका तयार रहेको संकेत दिएका छन्। यसअघि अमेरिकी पक्षले जापानी मुद्रालाई समर्थन गर्ने सम्भावनाबारे तयारी गरिरहेको संकेत देखिएको थियो।

विशेषज्ञहरूका अनुसार अमेरिकी र जापानी ब्याजदरबीचको ठूलो अन्तर येन कमजोर हुनुको प्रमुख कारणमध्ये एक हो। उच्च प्रतिफल खोज्ने लगानीकर्ताहरूले कम ब्याजदर भएको येनमा ऋण लिएर अन्य मुद्रामा लगानी गर्दा येनमाथि थप दबाब परेको थियो।

येन कमजोर हुँदा जापानमा आयातित वस्तुको मूल्य बढ्ने, ऊर्जा तथा खाद्यान्नको लागत महँगो हुने र सर्वसाधारणको जीवनयापनमा दबाब बढ्ने भएकाले सरकारले मुद्रा स्थिरताका लागि हस्तक्षेप गरेको हो।

जापान र अमेरिकाले मुद्रा बजारमा प्रयोग गरिएको कुल रकम आधिकारिक रूपमा सार्वजनिक गरेका छैनन्। विभिन्न अनुमानअनुसार जापानले ठूलो परिमाणमा येन खरिद गरेको हुन सक्ने बताइएको छ।

जापानको अर्थ मन्त्रालयले बजारमा असामान्य उतारचढाव जारी रहेमा भविष्यमा पनि आवश्यक कदम चाल्न पछि नहट्ने जनाएको छ।

यद्यपि मुद्रा हस्तक्षेपले छोटो अवधिमा येनलाई बलियो बनाउन सहयोग गरे पनि दीर्घकालीन रूपमा यसको प्रभाव कति रहने भन्ने विषयमा अर्थविद्हरूले प्रश्न उठाएका छन्। विज्ञहरूका अनुसार येनको स्थायित्वका लागि जापानको मौद्रिक नीति, ब्याजदर समायोजन र आर्थिक संरचनामा सुधार आवश्यक हुनेछ।

अमेरिका र जापानबीचको यो संयुक्त कदम विश्व मुद्रा बजारका लागि पनि महत्वपूर्ण संकेत मानिएको छ, किनकि ठूला अर्थतन्त्रहरूले विनिमय दर स्थिर राख्न प्रत्यक्ष रूपमा सहकार्य गरेको यो दुर्लभ घटना हो।

ताजा समाचार