टोकियो । जापान सम्पन्न भएको निर्वाचनमा पहिलो महिला प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले अत्यधिक बहुमत हासिल गर्न सफल भएको छ ।
आईतबार सम्पन्न् निर्वाचनमा ४६५ सदस्यीय तल्लो सदनमा एलडीपीले ३१६ सिट जितेको छ, जुन साधारण बहुमतका लागि आवश्यक २३३ सिटभन्दा ८३ सिट बढी हो ।
पार्टीको स्पष्ट जितपछि पत्रकारहरूसँग कुरा गर्दै ताकाइचीले भनिन्, ‘हामीले जिम्मेवार र सक्रिय वित्तीय नीतिमा निरन्तर जोड दिँदै आएका छौं । हामी वित्तीय नीतिको दिगोपनलाई प्राथमिकता दिनेछौं र आवश्यक लगानी सुनिश्चित गर्नेछौं ।’
को हुन् ताकाइची ?

मार्गरेट थ्याचरप्रति उनको प्रशंसाका कारण ‘आइरन लेडी’ उपनाम पाएकी सानाए ताकाइची जापानको लिबरल डेमोक्रेटिक पार्टीको दक्षिणपन्थी धारमा पर्ने, व्यक्तित्वका रूपमा चिनिन्छिन् । उनी लैङ्गिक समानताबारे रूढिवादी दृष्टिकोण र कडा आप्रवासन नीतिका कारण परिचित छिन् ।
पूर्व प्रधानमन्त्री शिन्जो आबेकी निकट सहयोगी मानिने ६४ वर्षीया ताकाइचीले आफ्नो राजनीतिक करिअरमा विभिन्न मन्त्री पद सम्हालिसकेकी छन् ।
उनी पाँच वर्ष अवधिमा जापानको चौथी प्रधानमन्त्री हुन् । जापानमा अघिल्ला प्रधानमन्त्रीहरूको लोकप्रियता तीव्र रूपमा घट्नु र विभिन्न काण्डमा मुछिएका कारण पद छोड्न बाध्य भएका थिए ।
राजनीतिमा आउनु अघि ताकाइचीले केही समय टेलिभिजन प्रस्तोता (होस्ट) का रूपमा पनि काम गरेकी थिइन् ।
हेभी मेटल संगीतकी पारखी उनी एक ब्याण्डमा पनि संलग्न थिइन् । स्टेजमा जोसिलो प्रस्तुति दिँदा ड्रमस्टिक भाँचिने भएकाले सधैं धेरै ड्रमस्टिक बोकेर हिँड्ने व्यक्ति भनेर उनी चर्चित थिइन् ।
ताकाइची व्यक्तिगत रूपमा निकै लोकप्रिय भए पनि पछिल्ला वर्षहरूमा सत्तारूढ एलडीपी चन्दा र धार्मिक काण्डका कारण दबाबमा थियो ।
तर, घरपरिवारलाई बढ्दो महँगीको मारबाट जोगाउन खाद्यान्नमा लाग्ने आठ प्रतिशत बिक्री कर निलम्बन गर्ने चुनावी प्रतिबद्धतासहित निर्वाचनमा होमिएको थियो । विकसित अर्थतन्त्रहरूमध्ये सबैभन्दा ठूलो ऋण बोकेको देशले यस्तो योजना कसरी वित्तपोषण गर्छ भन्ने प्रश्न अहिले उठेको अलजजिराले लेखेको छ ।
ताकाइचीलाई ट्रम्पको बधाई, चीनलाई तनाव
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत ताकाइचीलाई समर्थन जनाउँदै बधाई दिएका छन् । ट्रम्पले ताकाइचीलाई ‘पूर्ण समर्थन’ रहने बताएका छ ।

