पोखरामा वरिष्ठ कार्टुनिस्ट वात्स्यायनको रथारोहण 

पोखरा । वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ८० वर्ष पूरा भएको अवसरमा शनिबार पोखरामा उनलाई रथारोहण गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवार ‘पोयुसांप’को अगुवाइमा पोखरामा क्रियाशील दर्जनभन्दा बढी साहित्यिक तथा वाङ्मयिक संस्थाले उनलाई रथारोहण र नागरिक अभिनन्दनको कार्यक्रम राखेको हो ।

नदीपुरस्थित बराल निवासबाट बिहान साढे १० बजे सुरु भएको रथारोहणमा सयौं कलाप्रेमी र सर्वसाधारण सहभागी थिए । नदीपुर, बगर, पीएन क्याम्पस गेट, ट्याक्सीचोक हुँदै विन्ध्यबासिनी मन्दिरसम्म उनको रथारोहण भएको थियो । विन्ध्यबासिनी मन्दिरमा वात्स्यायनको नागरिक अभिनन्दन हुँदैछ ।

१९९९ सालको चैत ५ गते कास्कीको आर्बा (हाल पोखरा १३) मा जन्मिएका थिए । पोखरालाई ‘पानी रङको विद्यालय’का रुपमा चिनाउने मुख्य श्रेय उनै कलाकार वात्स्यायनलाई जान्छ । करिब ३० को दशकमा पोखरामा ‘इगल आई’नामक आर्ट स्टुडियो खोलेर उनले पोखरामा पानीरङ चित्र्याएका थिए ।

वात्स्यायनले त्रिभुवन विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका छन् । दुर्गा बरालबाट कला क्षेत्रमा आफूलाई सम्मानित एउटा नाम ‘वात्स्यायन’ बनाएका उनले जापानबाट ग्राफिक आर्ट र कान्तिपुर मिडियाको कार्टुन सम्पादकका रुपमा काम गरिसकेका छन् । व्यक्तिगत तथा सामूहिक गरी दर्जन बढी चित्रकला, कार्टुन प्रदर्शन गरिसकेका छन् ।

नेपालको सबैभन्दा प्रख्यात प्रवल गोरखा दक्षिण बाहू चौंथो, जगदम्बा श्री पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कारलगायत दर्जन बढी पुरस्कार प्राप्त गरेका छन् ।

आफ्नो प्रतिभामार्फत नेपाल समसामयिक राजनीतिलाई चोटिलो प्रहार गर्दै आएका बरालका कला वीरेन्द्र आर्ट ग्यालरी, काठमाडौं र पोखराका राजदरबार तथा केही अन्तर्राष्ट्रियस्तरका निजी तथा सार्वजनिक रुपमा पनि राखिएको छ । उनको ‘वात्स्यायन एन्ड हिज बार्बस’ नामक कार्टुन संग्रह प्रकाशित छ ।

ताजा समाचार