विमान दुर्घटनामा निधन भएका पत्रकार पौडेलको श्रद्धाञ्जलीमा सयौं सहभागी

पोखरा । यती एयरको विमान दुर्घटनामा परेर निधन भएका पत्रकार त्रिभुवन पौडेलको शव श्रद्धाञ्जलीका लागि नेपाल पत्रकार महासंघ कास्की तथा प्रदेशको प्रांगणमा राखिएको छ ।

उनलाई श्रद्धाञ्जली अर्पण गर्न सयौंका संख्यामा शुभचिन्तकहरु महासंघमा भेला भएका छन् ।

मुख्यमन्त्री खगराज अधिकारी, प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डे, मन्त्रीहरू, सांसदहरू, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, महासचिव रोशन पुरी, निर्वतमान अध्यक्ष गोविन्द आचार्य, केन्द्रिय पदाधिकारीहरु विभिन्न राजनैतिक संगठन अध्यक्षहरु एव शुभचिन्तक श्रद्धाञ्जली सभामा भेला भएका छन् ।

महासंघ प्रदेशका संस्थापक अध्यक्षसमेत रहेका उनको श्रद्धाञ्जलीपश्चात् शवयात्रा गर्दै रामघाटमा अन्त्येष्टि गरिनेछ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका पौडेल नेपाल प्रेस सेन्टरको बैठकको तयारीमा थिए । त्यसकै निम्ति काठमाडौं गएर पोखरा फर्कने क्रममा विमान दुर्घटना परेका थिए ।

अन्पूर्ण एफएमबाट पत्रकारीता शुरु गरेका पौडेल पोखरा हटलाइन दैनिकका सम्पादक पौडेल नेपाल प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्षसमेत हुन् । उनले कृष्णबहादुर महारा अर्थमन्त्री हुँदा प्रेस संयोजक भएर पनि काम गरेका थिए ।

पौडेलको मृत्युले सिंगो पोखरेली पत्रकारिता स्तब्ध भएको छ ।

ताजा समाचार