पोखराको विमान दुर्घटनामा ६८ जनाको मृत्यु, शोकमा भोलि सार्वजनिक बिदा

पोखरा

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जानकारी दिएको छ ।

यलैविच पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले एक दिन शोक मनाउने निर्णय गरेको जानकारी दिए । आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबारे मन्त्री पौडेलले भने, ‘घटनाका प्रति गहिरो दुःख व्यक्त गरेको छ । दिवंगतहरूप्रति श्रदाञ्जली र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । शोकपूर्ण घटनाका सन्दर्भमा माघ २ गते शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।’

मन्त्रिपरिषद्को बैठकले उक्त घटनाको कारण जाँच गर्नका लागि पाँच सदस्यीय जाँच समिति पनि गठन गरेको छ ।

ताजा समाचार