आँबुखैरेनी नजिक सडक भासिँदा मृत्यु भएका दुई मध्ये एकको खुल्यो पहिचान 

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडक भासिएर दुई जनाको मृत्यु भएको छ।

मृत्यु भएका दुई पुरूषको शव मर्स्याङ्दी नदी किनाराबाट निकालिएको हो।

तनहुँ प्रहरीका अनुसार मृत्यु भएका एक जनाको पहिचान खुलेको छ। गोरखाको सिरानचोक गाउँपालिका छोप्राकका केशव घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक राजेन्द्र रेग्मीले बताए।

सडक भासिएको ठाउँमा बा १० च ४६७९ नम्बरको कारको नम्बर प्लेट पनि फेला परेको छ। उनीहरू उक्त कारमा रहेको अनुमान गरिएको छ। कार आँबुखैरेनीबाट मुग्लिङतर्फ जाँदै गर्दा सडक भासिएको ठाउँमा परेको अनुमान छ।

गए राति करिब ३ बजेतिर यहाँ सडक भासिएको थियो।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले कार र मोटरसाइकल पहिरोमा परे पनि मोटरसाइकल चालक सकुशल रहेको बताए।

यहाँ सडक खुलाउन केही समय लाग्ने भएको छ। भित्ता कटिङ गरेर एकतर्फी रूपमा सडक खुलाउने तयारी गरिएको छ।

ताजा समाचार