वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अगाडि सार्ने भएका छन् । विपक्षी गठबन्धनको बिहीबार बसेको हेटौंडामा बसेको बैठकले पाण्डेलाई मुख्यमन्त्रीको रुपमा अगाडि बनाउने निर्णय गरेको हो ।
मुख्यमन्त्रीका लागि कांग्रेस नेता इन्द्र बानियाँ र पाण्डेबीच प्रतिस्पर्धा थियो। बानियाँ प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुन्। देउवाले मुख्यमन्त्रीको विषय टुंग्याउन र सम्झौता गर्न कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतलाई बिहीबार बिहान हेटौंडा पठाएका थिए।
महतले मुख्यमन्त्रीमा पाण्डे अगाडि बढाउने गठबन्धनभित्र समझदारी बनाएर काठमाडौं फर्केका छन्। स्रोतका अनुसार एकीकृत समाजवादी र कांग्रेसले आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पत्रमा गठबन्धनका नेताहरुले हस्ताक्षर गरेका छन्।
गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, नेकपा (एस) ले नयाँ मुख्यमन्त्री चयनका लागि हस्ताक्षर समेत संकलन गरिसकेका छन्। प्रदेशसभा बैठक बिहीबार बस्दैछ।