सिरहा — सिरहामा विद्यालयको लापरबाहीका कारण शनिबार एक छात्राको मृत्यु भएपछि विद्यार्थी र स्थानीय अभिभावकहरूले प्रदर्शन गरेका छन् ।
आक्रोशित विद्यार्थीहरुले आइतबार बिहान १० बजेबाट पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया खण्डमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले प्रदर्शन गर्दै मिर्चैयास्थित इलाका प्रहरी कार्यालयसमेत घेराउ गरेका थिए ।
सिरहाको मिर्चैयास्थित सगरमाथा हाइयर सेकेन्डरी स्कुलमा अध्ययनरत सिरहा नगरपालिका–११ पदमपुरकी १६ वर्षीया सिर्जना कुमारी महराको औषधि खाने क्रममा पानीको बोतलमा रहेको स्प्रिट पिउँदा मृत्यु भएको हो ।
स्प्रिट पिएर शुक्रबार बिरामी परेकी महराको सिरहाको कर्जन्हास्थित फूल कुमारी मेमोरियल अस्पतालमा उपचारको क्रममा शनिबार राति १२ बजेतिर मृत्यु भएको थियो । विद्यालयको चरम लापरबाहीले सिर्जनाको मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध गरेपछि खुलाउन प्रहरीले तीन राउण्ड हवाइफायर गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी हरी बहादुर वलीले जानकारी दिए ।