धनुषा
मन्त्रालय र मन्त्रीको टुंगो नलाग्दा लम्बिएको नेकपा एकीकृतको सत्तारोहण आइतबार बल्ल पूरा भएको छ । दुई मन्त्रीको भाग लिँदै नेकपा(एस) आइतबार प्रदेश २ सरकारमा सहभागी भएका छन् ।
नेकपा (एस) संसदीय दलका नेता सत्रुधन महतो र प्रदेश सांसद प्रमोद यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले आइतबार बिहान पद तथा गोपनियताको शपथ गराएका छन् । महतोले उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रीका जिम्मेवारी पाएका छन् भने यादवले कानुन, न्याय तथा प्रदेशसभा मन्त्रीमा नियुक्त भएका हुन् । महतोलाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय दिन मुख्यमन्त्री लालबाबु राउतले आफ्नै दल जनता समाजवादी पार्टीका मन्त्री रामनरेश रायलाई गत साता बर्खास्त गरेका थिए ।
धनुषा निर्वाचन क्षेत्र नं. ४(ख) बाट निर्वाचित महतो संविधानसभाका बेला संघीय सरकारका स्थानीय विकास राज्यमन्त्री समेत भएका थिए । सिरहा निर्वाचन क्षेत्र नं. ३ (ख) बाट प्रदेश सांसद जितेका यादव अर्को मन्त्रालयको जिम्मेवारी पाएका हुन् । प्रदेशसभामा नेकपा(एस)को १३ जना सांसद छन् ।