विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा व्यापक कटौती गर्ने निर्णय गरेको छ ।
आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २५ प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेको हो । यो निर्णय कार्यान्वयन हुँदा प्रदेश सरकारलाई वार्षिक साढे ७ अर्ब बचत हुने आर्थिक मामिला तथा योजना मन्त्रालयका निमित्त सचिव सुशील बाँस्तोलाले बताए ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बेला भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त कार्यालयको पुननिर्माण र असोज १८ र १९ गते आएको बाढी पहिरोले भौतिक संरचनामा पुर्याएको क्षतिको पुनर्निर्माणका लागि सो रकम खर्च गर्नका लागि बजेट कटौती गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको भनाइ छ । यो निर्णयपछि सबै मन्त्रालयले विनियोजित बजेटमा २५ प्रतिशत रकम रोक्का गर्नेछन् । ‘यो कटौती तलब, भत्ता जस्ता अनिवार्य दायित्वहरू बाहेकका खर्चहरूमा लागू हुनेछ । यो पुँजीगत र चालु दुवै खर्चमा लागू हुन्छ,’ सचिव बाँस्तोलाले भने ।
उनका अनुसार प्रदेश सरकारको आय (राजस्व) घट्न सक्ने विश्लेषणको आधारमा पनि खर्च कटौतीको प्रतिशत बढेको हो । ‘यो २५ प्रतिशत कटौती गर्दा करिब साढे सात अर्ब रुपैयाँ जति बचत हुने अनुमान छ,’ बाँस्तोलाले भने । यद्यपि आर्थिका मामिला तथा योजना मन्त्रालयले पठाएको प्रस्तावमा क्याबिनेटले केही परिवर्तन गरेको हुन सक्ने र आधिकारिक निर्णय आइनसकेकाले सबै विवरण अन्तिम नभएको बाँस्तोलाको भनाइ छ ।