धरान–धनकुटा सडकखण्ड पहिरोले अवरुद्ध, हिले–पाख्रिबास लेगुवा खण्ड पनि बन्द,मेची तीन ठाउँका पुल बगे

काठमाडौं । धरान–धनकुटा सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । मुलघाट र नमस्ते झरना नजिक पहिरो र लेदो माटो थुप्रिएकाले सवारी आवागमन बन्द भएको हो ।

धरानबाट धनकुटातर्फ जाँदै गरेका केही सवारी साधन धरानतर्फ नै फर्किएका छन् ।

डोजर प्रयोग गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत हिले–पाख्रिबास–लेगुवा सडकखण्डमा समेत क्षति पुगेकाले त्यहाँसमेत सवारी आवागमन बन्द छ ।

यसैगरी मेची करिडोर अन्तर्गत तीन ठाउँका पुल बाढीले बगाएको छ ।

केचना–कञ्चनजंघा सडकखण्डमा रहेको माईखोलाको बेलासे पुल, पुवा खोलाको पुल र जोगमाई पुल बाढीले बगाएको हो ।

इलाम नगरपालिका-११ बेलासेमा माईखोला माथि करिब ५ वर्ष पहिले मात्रै बनेको पक्की पुल क्षतिग्रस्त भएपछि त्यहाँबाट आउजाउ ठप्प भएको छ ।

मेची राजमार्ग पहिरोले बन्द भएको छ । मेची राजमार्ग अन्तर्गत इलाम र पाँचथरका ३० भन्दा धेरै ठाउँमा सानो–ठूलो पहिरो खसेकाले आउ–जाउ बन्द भएको छ ।

ताजा समाचार