काठमाडौँ । कोशी प्रदेशका मन्त्री जोडिएको मानव तस्करीको घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ । कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीको हैसियतमा जापान जाने क्रममा असम्बन्धित व्यक्तिलाई सँगै लगेर मानव तस्करी गरेको आरोप सांसद लिलाबल्लभ अधिकारीमाथि लागेको छ । सो आरोप लागेपछि बुधबारमात्रै उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।
अधिकारीले नक्कली कागजात बाहकलाई सँगै लिएर जापान गएको खुलेको छ । अहिले प्रहरीले अधिकारीसँगै जापान गएका ३ जना सहित जम्मा ६ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।
मन्त्रीसँगै जापान जानेहरूमा खोटाङ घर भएका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा छन् । कात्तिक १४ मा मन्त्री सहित उनीहरूलाई टोकियोस्थित जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो ।
काठमाडौँ विमानस्थलमा ओर्लिएपछि ३ जनालाई अध्यागमन कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जिम्मा लगायो । तर, अधिकारी भने विमानस्थलबाट सहजै बाहिरिएका थिए ।
जापानबाट डिपोर्ट भएर आएकाहरूको बयानको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले थप ३ जनालाई पक्राउ गरेको हो ।