इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।
एटलान्टा स्टेडियममा भएको खेलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो ।

एक गोलले पछि परेको अर्जेन्टिनाले अन्तिम समयमा दुई गोल गर्दै लगातार दोस्रोपटक फाइनलमा स्थान पक्का गर्यो । अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरे ।

खेलको ५५औं मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई सुरुवाति अग्रता दिलाएका थिए । तर, अन्तिम समयमा अग्रता जोगाउन नसक्दा इंग्ल्यान्ड सेमिफाइनलमै रोकियो छ ।
८५औं मिनेटमा कप्तान लियोनल मेसीको पासमा फर्नान्डेलले डिबक्सबाहिरबाट गरेको प्रहार गोल हुँदा अर्जेन्टिना खेलमा फर्कियो ।
दोस्रो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा मेसीकै पासमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाए ।
अर्जेन्टिनाको ५ प्रहार सर्ट अन टार्गेट हुँदा इंग्ल्यान्डले २ प्रहार मात्र सर्ट अन टार्गेट राख्न सक्यो । बल पोजिसनमा पनि अर्जेन्टिना अघि रह्यो । खेलभर २६ वटा फाउल हुन पुग्यो ।
सन् १९६६ मा उपाधि जितेको इंग्ल्यान्ड सेमिफाइनलमा तेस्रोपटक पराजित भएको छ ।
३ पटकको विश्वविजेता अर्जेन्टिना सातौंपटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ । सन् २०२२ को विश्वविजेता अर्जेन्टिना लगातार दोस्रोपटक उपाधि जित्ने बाटोमा अगाडि बढेको छ ।
अर्जेन्टिनाले उपाधिका लागि अब स्पेनसँग खेल्नेछ ।

