सहआयोजक अमेरिका फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
सान फ्रान्सिस्को बे एरिया स्टेडियममा बिहिबार भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै अमेरिकाले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।
अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले एकएक गोल गरे । ४५औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई पहिलो अग्रता दिलाएका थिए । पहिलो अग्रता दिलाएका बालोगुन ६४ मिनेटमा रातो कार्ड खाँदै बाहिरिएपछि अमेरिका १० खेलाडीमा सीमित रह्यो ।
१० खेलाडीमा सीमित रहेपनि अमेरिकाले ८२औं मिनेटमा अर्काे गोल थप्यो । टिलम्यानले डिबक्सभन्दा केही बाहिरबाट फ्रिकिकमार्फत प्रहार गरेको बल सिधै बोस्नियाको गोलपोष्ट छि¥यो । त्यसपछि गोल हुन सकेन र अमेरिका २–० ले विजयी भयो ।
अमेरिकाले २४ वर्षपछि विश्वकपको नकआउट चरणमा जित निकालेको छ । यसअघि सन् २००२ मा भएको विश्वकपमा अमेरिका क्वार्टरफाइनलसम्म पुगेको थियो । त्यसयता दोस्रो चरणबाट बाहिरिदै आएको थियो ।
योसँगै सबै आयोजक राष्ट्र अन्तिम १६ मा प्रवेश गरेका छन् । मेक्सिको र क्यानडाले यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेका थिए ।
अब क्वार्टरफाइनल प्रवेशका लागि अमेरिकाले बेल्जियमसँग खेल्नेछ ।